
विराटनगर । श्रीमतीको हत्या गरेर फरार भएका एक प्रतिवादीलाई प्रहरीले ८ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुर नगरपालिका–६ देउराली टोल घर भएका ५३ वर्षीय नारदमणि राई छन्।
उनले २०७४ साउन १९ गते आफ्नी ४५ वर्षीया पत्नी अम्बिका श्रेष्ठ राईको हत्या गरेको भोजपुरका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए। घटनापछि फरार रहेका राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले मोरङको बेलबारीबाट पक्राउ गरेको हो।
लामो समयदेखि लुकिछिपी बस्दै आएका उनलाई पक्राउ गरी प्रहरीले ज्यान सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन अदालतमा पेस गरेको थियो। अदालतमा भएको थुनछेक बहसपछि पुस १७ गतेको आदेशले राईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको डीएसपी लामाले बताए।

























