
विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले चालु आर्थिक वर्षको प्रथम चौमासिकसम्ममा विद्युत महसुल नबुझाउने २४९ जना उपभोक्ताको लाइन काटेको छ। केन्द्रका अनुसार सो अवधिसम्म उपभोक्ताहरूबाट कुल ३ करोड ४६ लाख ७६ हजार ५५१ रुपैयाँ बक्यौता उठ्न बाँकी थियो।
वितरण केन्द्रका प्रमुख राम उदगार शाहका अनुसार उठ्न बाँकी बक्यौतामध्ये मंसिर मसान्तसम्ममा १ करोड ५८ लाख ४१ हजार ३०० रुपैयाँ किस्ताबन्दीमार्फत असुल गरिसकिएको छ। बाँकी रकम असुलीका लागि प्राधिकरणले लाइन काट्ने प्रक्रियालाई निरन्तरता दिएको छ।
प्रमुख शाहले समयमै महसुल बुझाउन पटक–पटक गरिएको आग्रहलाई अटेर गर्ने ग्राहकहरूको पहिचान गरी लाइन काट्ने कार्यलाई तीव्रता दिइएको जानकारी दिए। प्राधिकरणले थप कारबाहीबाट बच्न र झन्झट मुक्त हुन समयमै महसुल बुझाउन सबै उपभोक्ताहरूलाई पुनः अनुरोध समेत गरेको छ।

























