
जनकपुरधाम । सर्लाहीको ईश्वरपुरमा घाँटी रेटेर विभत्स हत्या गरिएका वन हेरालु रामईश्वर महतोको टाउको फेला परेको छ। शनिबार टाउको बिनाको शव मात्र भेटिएपछि खोजीमा जुटेको प्रहरीले आइतबार बिहान घटनास्थल नजिकैको झाडीमा छिनाइएको टाउको फेला पारेको हो।
सागरनाथ वन विकास परियोजनामा ज्यालादारी वन हेरालुका रूपमा कार्यरत ४७ वर्षीय महतोको शव उनको घरभन्दा करिब ५०० मिटर टाढा जंगलमा फेला परेको थियो। स्थानीयका अनुसार आइतबार बिहानै जंगलमा रुख काटिएको आवाज सुनेर त्यसतर्फ जाँदा महतोको विभत्स अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो।
घटनाको गम्भीरतालाई हेर्दै धनुषाको लालगढबाट तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान सुरु गरिएको थियो। सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार टाउको फेला परेसँगै घटनास्थलको मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ।
प्रहरीले यस हत्याकाण्डमा संलग्न रहेको आशंकामा एक जना स्थानीयलाई नियन्त्रणमा लिएको छ। “हामीले एक जनालाई पक्राउ गरी सोधपुछ र अनुसन्धान अगाडि बढाएका छौँ,” डीएसपी राईले भने। वन फँडानी गर्ने समूह वा व्यक्तिगत रिसिइबीका कारण हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

























