ओखलढुंगामा शृङ्खलाबद्ध हत्या र लुटपाटमा संलग्न गिरोह पक्राउ

Share this
645shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २०, आइतबार १५:२३

विराटनगर । ओखलढुंगामा छोटो समयको अन्तरालमै भएका २ वटा अत्यन्तै क्रूर र योजनाबद्ध हत्या तथा लुटपाटको घटनामा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

शृङ्खलाबद्ध हिसाबले गरिएको बीभत्स हत्या र लुटपाटका घटनामा संलग्न संगठित गिरोहलाई पक्राउ गर्दै प्रहरीले घटनाको भयावह विवरण आइतबार सार्वजनिक गरेको छ । पक्राउ परेको गिरोहले १ जना एकल महिला र किराना पसल सञ्चालन गर्दै आएका दम्पतीको निर्ममतापूर्वक हत्या गरेको पुष्टि भएको कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलले बताए ।

एकल महिला र किराना पसल सञ्चालक दम्पतीको हत्यामा संलग्नको खोजीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको संयुक्त टोली परिचालित थियो । प्रहरीको संयुक्त टोलीले शृङ्खलाबद्ध हत्या र लुटपाटमा संलग्न गिरोहका ४ जनालाई पक्राउ गरेको जानकारी एसएसपी पोखरेलले दिए ।

उनका अनुसार चिशंखुगढी गाउँपालिका–३ दियालेका २८ वर्षीय मिलन भनिने संगम राई, चिशंखुगढी–४ रातमाटेका ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र चिशंखुगढी–८ माम्खाका ३० वर्षीय दोर्जे भनिने अशोक भुजेललाई पक्राउ गरिएको हो । पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान, डाँका तथा हातहतियार खरखजना मुद्दा चलाउन प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।

पक्राउ परेको गिरोहले सुरुमा गत असोज २६ गते राति करिब १० बजेतिर एकल महिलाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सिद्धिचरण नगरपालिका–४ चार्खुमा खेतीकिसानी गरेर एक्लै जीवनयापन गर्दै आएकी ५२ वर्षीया रत्नकुमारी कटवाल (कार्की)लाई हतियारधारी समूहले घरमै आक्रमण गरेको थियो ।

बन्चरोले दाहिने कन्चट र कानको भागमा प्रहार गर्दै अत्यन्तै क्रूर तरिकाले उनको हत्या गरिएको प्रहरीले जनाएको छ । हत्या पश्चात् घरमा रहेको नगद र सुनका गरगहना लुटेर घटनामा संलग्नहरु फरार भएका थिए ।

स्थानीयले असोज २७ गते घटनाको जानकारी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । एकल महिला, ग्रामीण परिवेश र रातको समयमा गरिएको हत्याले जिल्लाभर त्रासको वातावरण सिर्जना गरेको थियो ।

यस घटनाको अनुसन्धान चलिरहेकै बेला अर्को दोस्रो र झनै डरलाग्दो घटना यही पुस १५ गते बिहान चिशंखुगढी गाउँपालिका–६ भदौरे गैरीगाउँमा भयो । किराना पसल सञ्चालन गर्दै आएका ६० वर्षीय शोभितमान थापामगर र उनकी पत्नी ६० वर्षीया रत्नमाया थापामगर हतियारधारी समूहको निशानामा परेका थिए ।

बिहान करिब ८ बजेतिर कोदालो तथा अन्य धारिला हतियारले दाहिने कन्चट र कानको भागमा प्रहार गर्दै दुवै जनाको निर्ममतापूर्वक हत्या गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हत्या पश्चात् गोठमा लगेर स्याउलाले छोपिएको अवस्थामा शव फेला परेको थियो ।

पसल सञ्चालक दम्पतीको हत्यापछि किराना पसल र कोठामा रहेको करिब १ लाख रुपैयाँ नगद तथा गरगहना र काँचो सुनसमेत गरी करिब ६ तोला सुन लुटेर गिरोह फरार भएको पाइएको एसएसपी पोखरेलले बताए । स्थानीयले खबर गरेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो ।

दुवै घटनाको प्रकृति, हत्या गर्ने तरिका, प्रयोग भएका हतियार र लुटपाटको उद्देश्य मिल्दोजुल्दो देखिएपछि प्रहरीले शृङ्खलाबद्ध अपराधको आशंकामा अनुसन्धान अघि बढाएको थियो । त्यसैका आधारमा सीआईबीसँगको समन्वयमा व्यापक खोजतलास सुरु गरियो ।

हत्यामा संलग्नलाई पुस १७ र १८ गते ओखलढुंगाका विभिन्न स्थानबाट पक्राउ गर्न प्रहरी सफल भएको हो । प्रहरीले हत्यामा प्रयोग भएका हतियार र लुटिएका सामग्रीहरू समेत बरामद गरेको छ ।

चार्खु घटनास्थलबाट हत्यामा प्रयोग गरिएको एउटा बन्चरो तथा दापसहितको एउटा खुकरी बरामद गरिएको छ भने रत्नकुमारीको हत्यापछि लुटिएको सुन पगालेर बनाइएको ५.८० ग्रामको १ थान औंठी फेला परेको प्रहरीले जनाएको छ ।

भदौरे गैरीगाउँस्थित शोभितमानको किराना पसलबाट लुटिएको १ सय रुपैयाँको रिचार्ज कार्ड, २ नाल भरुवा बन्दुक र ४ थान मोबाइल फोन हत्यामा संलग्नको साथबाट बरामद गरिएको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार बरामद भएका सामग्रीले अपराध योजनाबद्ध ढंगले गरिएको पुष्टि हुन्छ ।

पक्राउ परेकाहरु स्थानीय भूगोल र बस्तीको अवस्थासँग परिचित भएकै कारण अपराध सफल बनाउन सहज भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । प्रहरीका अनुसार हत्या र लुटपाटमा संलग्नविरुद्ध मुलुकी अपराध संहिताअन्तर्गत कर्तव्य ज्यान, डाँका तथा हातहतियार खरखजना सम्बन्धी कसुरमा मुद्दा चलाइनेछ ।

कर्तव्य ज्यानतर्फ क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको ठहर भएमा जन्मकैदसम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था छ । डाँकाको कसुरमा ७ वर्षदेखि १४ वर्षसम्म कैद र जरिबानाको प्रावधान रहेको छ । अवैध हातहतियार राखेको र प्रयोग गरेको अभियोगमा थप कैद तथा जरिबाना हुन्छ ।

नगद र सुनका गरगहना रहेको सूचनाकै आधारमा लुटपाट एवं डकैती गर्ने उद्देश्यले हत्या गरिएको देखिने प्रहरीको भनाइ छ । लुटपाटका लागि व्यक्तिको ज्यानै लिने अपराध समाजका लागि चिन्ताजनक विषय भएको प्रहरीको विश्लेषण छ ।

एसएसपी पोखरेलले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताए । अनुसन्धान सकिएपछि घटनासँग सम्बन्धित थप कुरा पत्ता लाग्ने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.