
काठमाडौँ । थाइल्यान्डको बैंककबाट गाँजा तस्करी गरी काठमाडौँ ल्याउने एक भारतीय नागरिक र सो गाँजा बुझ्न आउने अन्य दुई जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा ३० वर्षीय पदला भनिने भीरा भेन्कता सुब्रमन्यम तथा उनले ल्याएको गाँजा ‘रिसिभ’ गर्न आएका अब्दुल राहुफ र यासिन अब्दुल्ला रहेका छन्। उनीहरू तीनै जना भारतीय नागरिक हुन्।
थाई एयरको उडानमार्फत काठमाडौँ ओर्लिएका पदलाको साथबाट प्रहरीले १ किलो ५३० ग्राम गाँजा बरामद गरेको हो। विमानस्थलको आगमन टनेलमा जाँच गर्ने क्रममा उनको शङ्कास्पद गतिविधि देखिएपछि खानतलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला परेको थियो।
विमानस्थल बाहिर गाँजा बुझ्न कुरिरहेका अब्दुल र यासिनलाई पनि प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

























