सांकेतिक तस्बीरविराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा प्रहरीले चलाएको विशेष निगरानीका क्रममा झापा, मोरङ, सुनसरी र भोजपुरबाट प्रतिबन्धित औषधी, ब्राउन सुगर र गाँजासहित सात जनालाई पक्राउ गरिएको छ। झापाको इलाका प्रहरी कार्यालय दमकले पुस २१ गते गरेको चेकजाँचका क्रममा दमक-१ का सुरज कुमाल र कृष्ण बहादुर श्रेष्ठका साथै मोरङको मिक्लाजुङ-३ की मनिका राईलाई ६ ग्राम ७८० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।
यसैगरी, मोरङको विराटनगर महानगरपालिका-१५ स्थित सीमा क्षेत्रबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले धरान-५ का किसन घतानी र दर्लामी मगरलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ५ ग्राम २१ मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
लागुऔषध विरुद्धकै अर्को कारबाहीका क्रममा सुनसरीको प्रहरी चौकी भरौलले रामधुनी-६ का सुनिल चौधरी र सुजन राईलाई ठुलो परिमाणमा प्रतिबन्धित औषधीसहित नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको साथबाट ६२० क्याप्सुल र ५७० ट्याब्लेट औषधी बरामद गरेको हो।
उता भोजपुरको अस्थायी प्रहरी पोष्ट दुम्मानाले आमचोक-८ हतुवालीस्थित एक स्थानबाट बेवारिसे अवस्थामा रहेको ८ किलोग्राम गाँजा फेला पारेको छ। पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको छ।

























