
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गतेको घटनामा संलग्न भई देश जलाउने कार्यमा लाग्नेहरू नेपाली हुनै नसक्ने टिप्पणी गरेका छन्। नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको ३५ औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्ता तत्वहरू देशद्रोही र अपराधी भएको बताएका हुन्।
अध्यक्ष ओलीले उक्त घटनालाई तात्कालिक आक्रोश नभई आठ–दश वर्ष अघिदेखिको योजनाबद्ध तयारी भएको दाबी गरे। उनले ‘जेनजी’ पुस्ता त्यस्तो कार्यमा संलग्न नरहेको स्पष्ट पार्दै बेहोस पारिएका, बहकाइएका र आत्मा बेचिएका तत्वहरूले मात्र यस्तो हर्कत गरेको आरोप लगाए। ‘देश जलाउनेहरू देशद्रोही हुन्, अपराधी हुन्, उनीहरू कुनै आन्दोलनकारी होइनन्,’ ओलीले भने, ‘यो नेपाली आचरण, बुद्धि र मति हुनै सक्दैन।’
सम्बोधनका क्रममा ओलीले संसद् भवन, सरकारको मुख्यालय र सर्वोच्च अदालत लगायतका महत्वपूर्ण निकायहरूमा खोजी–खोजी आगजनी गरिएको भन्दै चिन्ता व्यक्त गरे। विशेषगरी खास मान्छेका मिसिल (कागजात) भएका ठाउँहरू पहिचान गरेरै जलाइएको उनको भनाइ छ। उनले देशका महत्वपूर्ण अङ्गहरूमाथि प्रहार हुनु सामान्य कुरा नभएको भन्दै यसका पछाडि गहिरो षड्यन्त्र लुकेको संकेत गरे।

























