
विराटनगर । संखुवासभा जिल्लाको मकालु गाउँपालिका–३ हेदाङ्नास्थित इलाका प्रहरी कार्यालयको नयाँ भवन निर्माण सम्पन्न भएको छ ।
नवनिर्मित कार्यालय भवनको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले बुधबार औपचारिक रूपमा उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै घिमिरेले नयाँ भवन सञ्चालनमा आएसँगै नागरिकले प्रहरी सेवा सहज र प्रभावकारी रूपमा प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरे ।
उनले अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्ने काम थप सुदृढ हुने, समुदायसँगको सहकार्य मजबुत बन्ने र जनचेतनामूलक कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने बताए । दुर्गम, पहाडी तथा हिमाली भू–भाग रहेको यस क्षेत्रका बासिन्दालाई सुरक्षित समाजको अनुभूति गराउनु नेपाल प्रहरीको प्रमुख दायित्व भएको घिमिरेले उल्लेख गरे ।
उनले इलाका प्रहरी कार्यालय हेदाङ्नामा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई कर्तव्यनिष्ठ, अनुशासित, इमानदार र सेवाभावका साथ नागरिकको भावनालाई सम्मान गर्दै सेवा प्रवाह गर्न निर्देशन दिए । डीआईजी घिमिरेले भवन निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैप्रति आभार प्रकट गरे ।
कार्यक्रमको अवसरमा भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाता गौरीमाया पराजुली, रन्जित पराजुली र श्रीबहादुर राईलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । भवन निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गरेकाहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
भवनको समुद्घाटन कार्यक्रममा संखुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दी छिरिङ शेर्पा, भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्छेदर भोटे, संखुवासभा प्रहरी प्रमुख डीएसपी कुमारप्रसाद मैनालीसहित स्थानीय र प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।
१६ कोठा रहेको अढाई तले उक्त भवन ३ करोड २० लाख ८६ हजार ३ सय ५७ रुपैयाँको लागतमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा निर्माण सम्पन्न भएको हो । नयाँ भवन निर्माणसँगै हेदाङ्ना क्षेत्रका नागरिकले थप व्यवस्थित र प्रभावकारी प्रहरी सेवा पाउने अपेक्षा गरिएको छ ।

























