विविधतामा एकता

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुष १५, सोमबार १५:००

नेपाल विभिन्न जाति, भाषा र संस्कृतिमा धनी छ । हरेक जातजातिअनुसार फरक–फरक चाडपर्व छन् । सबैले आआफ्नै विशेषता बोकेका छन् । हिमाल, पहाड र तराई मिलेर बनेकाले ठाउँ अनुसार फरक संस्कार र संस्कृति हुन्छन् । यसले नेपाललाई विश्वमा फरक रूपमा चिनाएको पनि छ । त्यसैले नेपाललाई बहुजाति, बहुभाषी, बहुसांस्कृतिक, बहुधार्मिक र बहुभौगोगिक विशेषता भएको देश भनेर चिनिन्छ ।

आ–आफ्नै मौलिक संस्कृति र चाडपर्व भएकाले प्राय बाह्रै महिना पर्व छुट्दैनन् । यो विविधता भित्र नेपाली एकता प्रतिविम्बित छ । त्यसैले साहित्यकार दुर्गालाल श्रेष्ठले आफ्नो शब्दमा लेखेका छन् ‘सयथरी बाजा एउटै ताल, सयथरी नै होस् जाति र जात, नाँच्छौं यसरी एकै साथ ।’ आज यसरी नै नाच्ने दिन पनि परेको छ । आज ‘तमु ल्होसार’ पर्व । यो अवसरमा सम्पूर्णमा शुभकामना ।

हाम्रा पर्वहरूले नागरिक स्तरमा पनि विविधतामा एकता कायम गर्न र सामाजिक सद्भावलाई सुदृढ बनाउन सहयोग गरेका छन् । यो पर्व गुरुङहरूको नयाँ वर्षको आगमनलाई संकेत गर्ने दिनको रूपमा मनाइन्छ । गुरुङ समुदायले १२ वर्षमा १२ वटा जनावरको नामबाट ल्हो (वर्ष) चक्र निर्धारण गरेका छन् । यो नयाँ ल्होको स्वागत गर्ने पर्व हो । यस पर्वले गुरुङ समुदायको सांस्कृतिक पहिचान, एकता र परम्परालाई जीवन्त राख्न भूमिका खेलेको छ ।

हिन्दु, बौद्ध, किराँत, मुस्लिमलगायत सबै धर्म मान्नेहरूका आ–आफ्नै विशेषताका चाडपर्व र संस्कार–संकृति छन् । तर, सबै चाडपर्वका विशेषता भनेको एउटै हो । सबैको कल्याण गर्नु, सहयोग गर्नु, मित्रताको भावना राख्नु, शिष्ट आचरण, सभ्यता, सद्भाव, सेवा, सहकार्य, सुख–शान्ति कायम राख्नु यसको विशेषता भित्र पर्छ ।

चाडपर्वले मानिसमा रौनक र हर्षोल्लास ल्याउछ । त्यसैले स्वच्छ समाजका लागि चाडपर्वको महत्वपूर्ण भूमिका हुन्छ । चाडपर्व मनाउनु भनेको आफ्नो पहिचान देखाउनु पनि हो । अझै नेपालमा आफ्ना संस्कार र संस्कृतिलाई जोगाएर यस्ता सद्भाव कायम राख्नमा आदिवासी जनजातीको भुमिका महत्वपूर्ण मानिन्छ ।

अतिथिलाई सत्कार गर्ने नेपालका आदिवासी जनजातीको संस्कृतिबाट स्वदेशी मात्र होइन विदेशीसमेत प्रभावित छन् । यसले उनीहरू प्रति गरिने सम्मानलाई मात्रै नभई नेपाललाई हेर्ने विश्वको दृष्टिकोण अझै उच्च बनाएको छ ।

नेपालको संविधान–२०७२ ले नेपालको विविधतालाई समेटने मार्ग प्रशस्त गरेको छ । संविधानको प्रस्तावनामै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता खोजिएको छ । यस्तो एकताले सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण गर्छ । त्यसैले नेपाल भौगोलिकरूपमा सानो भएता पनि यो विशिष्ट पहिचान भएको एक स्वाधीन राष्ट्र हो ।

परापुर्वकालदेखि चलेको संस्कार संस्कृति रक्षा गर्दै यसको सम्मान गर्नु सबैको दायित्व हो । तर, पछिल्लो समयमा आफ्नै पहिचान जोगाउन पनि आदिवासी जनजातीले आन्दोलन गर्नुपरेको तितो अथार्थ छ । जनसंख्याको आधारमा पूर्ण समानुपतिक प्रतिनिधित्वको अधिकार आदिवासी जनजातीले उठाएको मुख्य मुद्धा हो । तर, यसको सम्बोधन अझै नभएको गुनासो छ । जनजातिको परिभाषाले पनि उठाएका मुद्धा मजबुत नबनेको तर्क बेलामौका आउँछन् । यसको मानवशास्त्रीहरूले थुप्रै व्याख्या गरेका छन् ।

नेपालका जनजाति र अन्य मुलुकका जनजातिको परिभाषा एउटै हुन सक्दैन । भारतका जनजाति लागि गरिएको परिभाषाले यहाँका जनजातिलाई समेट्न सक्दैन भने यहाँका जनजातिको परिभाषाले भारतका जनजातिलाई समेट्दैन । सामान्य अर्थमा जनजाति भन्नाले आदिम जातिलाई भनिन्छ भन्ने विषयमा मानवशास्त्री र समाजशास्त्रीहरु सहमत भइसकेका छन् । त्यसैले आदिम जातिको संरक्षण र उनीहरूको मागलाई समयमा उचित सम्बोधन आवश्यकता हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.