ब्राउन सुगरको तस्करीमा सवारीसाधनको प्रयोग, भारतबाट ल्याएर काठमाडौंसम्म पुर्याउने गिरोह सक्रिय

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ११, बुधबार २०:०८

झापा । भारतसँगको खुला सीमाको फाइदा उठाउँदै सवारीसाधनको प्रयोग गरेर झापाबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)को तस्करी बढेको छ ।

भारतबाट झापाको बाटो हुँदै ल्याएर ब्राउन सुगर विभिन्न सहरसहित काठमाडौंसम्म पुर्याउने गरेको पाइएको छ । निजी कारमार्फत ब्राउन सुगर ओसारेर नेपालभित्रका पहाडी जिल्ला तथा उपात्यकातर्फ ओसारपसार गर्ने गिरोह प्रहरीको फन्दामा परेको छ। पछिल्लो ५ दिनको अवधिमा झापा भद्रपुरबाट २ वटा कार प्रयोग गरेर लागुऔषध ल्याउँदै गरेका युवतीसहित ६ जना पक्राउ परेपछि गिरोहले चलाइरहेको धन्दाको पर्दाफास भएको हो ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले ठूलो मात्रामा ब्राउन सुगरसहित मोबाइल र सवारी साधनसमेत बरामद गरेको छ। भारतीय सीमा हुँदै ब्राउन सुगर नेपाल भित्राएर काठमाडौंतर्फ लैजाँदै गरेका ४ जनालाई भद्रपुर नगरपालिका–७ स्थित आनी होटल रोड अगाडिबाट प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भारतबाट फर्किंदै गरेको बा प्र ०१–००३– च ०८७७ नम्बरको हुन्डाई क्रेटा कार रोकेर चेकजाँच गर्दा गाडीभित्र लुकाएर राखिएको २ सय ग्राम ३ सय ९० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो। पक्राउ पर्नेमा नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–१३ का ३१ वर्षीय साजन तामाङ, ३० वर्षीय सजिन लामा, ३३ वर्षीय दीपेश लामा र बेलकोटगढी–११ का २३ वर्षीय राम तामाङ रहेका छन्।

प्रहरीले उनीहरूलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । उनीहरूको साथबाट ७ थान मोबाइल, ब्राउन सुगर र प्रयोग गरिएको सवारीसाधन बरामद गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। लागुऔषध नियन्त्रण ऐन अनुसार मुद्दा चलाउन अदालतबाट म्याद थप गरर प्रहरीले अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।

यसअघि, असार ७ गते भद्रपुर–५ स्थित भन्सार गेटअगाडिबाट पनि प्रहरीले एउटा निजी कार प्रयोग गरेर लागुऔषध ओसार्ने २ जनालाई पक्राउ गरेको थियो। भारतबाट ब्राउन सुगर मगाएर बा प्र ०१–००३ च ७७९३ नम्बरको नेटा इभी कार चढी काठमाडौं जान लागिरहेका काठमाडौं घर भएका २४ वर्षीय निवेश कुँवर र लमजुङ घर भएकी २२ वर्षीया नोजिना रानालाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको थियो। उनीहरूको साथबाट प्रहरीले ४७ ग्राम ६ सय ९० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

वैशाख ३१ गते गौरीगञ्ज गाउँपालिका–३ स्थित बजार क्षेत्रमा लागुऔषध ओसारपसारमा संलग्न ३ जना पक्राउ परेका थिए। दमकका भूपेन्द्र राई, भारतका भोला ठाकुर र मोनाजिर आलम सय ग्राम ९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेको डीएसपी खड्काले बताए । उनका अनुसार उनीहरूलाई ना १ च ९१६२ नम्बरको हुन्डाई कार र भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको थियो। यो घटनाले पनि सीमावर्ती बजारलाई लागुऔषध कारोबारको सहज स्थलका रूपमा प्रयोग गरिँदै आएको पुष्टि गर्छ।

झापा प्रहरी प्रमुख एसपी राजन लिम्बूले पछिल्लो समय ब्राउन सुगरको कारोबार बढेको बताए । सीमासम्म कार चढेर आउने, भारतबाट लागुऔषध खरिद गर्ने र त्यसलाई लुकाएर विभिन्न ठाउँमा लैजाने प्रवृत्ति बढेको उनको भनाइ छ । सीमावर्ती बजारका होटल, गेस्ट हाउस, वा अड्डासम्म ड्रग्स ल्याइन्छ र कारभित्र लुकाएर काठमाडौँलगायतका ठाउँमा पुर्याउने गरिएको अनुसन्धानबाट खुलेको एसपी लिम्बूले बताए।

उनका अनुसार पक्राउ अधिकांश तीर्थ यात्री वा घुमफिरका यात्रु झैं देखिन्छन् । उनीहरूले कारभित्र ब्राउन सुगर निकै सावधानीपूर्वक लुकाएर लैजाने गरेको पाइन्छ ।

सार्वजनिक सवारीभन्दा निजी गाडी बढी सुरक्षित हुने ठानेर यस्ता कारोबारीले उच्च मूल्यका कार प्रयोग गर्ने गरेको अनुसन्धानको क्रममा देखिएको प्रहरीको भनाइ छ।

प्रहरीको तथ्यांक अनुसार लागुऔषध ब्राउन सुगरको कारोबार हरेक वर्ष बढ्दो छ। आर्थिक वर्ष २०७९–०८० मा १ हजार ५ सय ५८ ग्राम ४ सय ५९ मिलिग्राम ब्राउन सुगर बरामद भएकोमा २०८०–०८१ मा २ हजार १ सय ७४ ग्राम १ सय ९५ मिलिग्राम र चालु आर्थिक वर्ष २०८१–०८२ को हालसम्म २ हजार ५ ग्राम १ सय ६५ मिलिग्राम बरामद भइसकेको एसपी लिम्बूले बताए । प्रहरीको तथ्यांकले ब्राउन सुगर कारोबारको सञ्जाल अझै सशक्त हुँदै गएको संकेत गर्छ ।

झापा मात्र होइन, काठमाडौं, ललितपुर, भक्तपुर, हेटौंडा, पोखरा लगायतका सहरी केन्द्रहरूमा ब्राउन सुगरको माग तीव्र रहेकोले तस्करी पनि बढेको प्रहरीको भनाइ छ। यस्ता कारोबारीहरू आपसी सञ्जाल, सूचनाको प्रविधि र निजी सवारीको प्रयोग गरेर सुरक्षाकर्मीलाई छल्न खोज्छन्। प्रहरीले सीमामा थप निगरानी र गस्ती बढाउँदै सवारी चेकजाँचमा कडाइ गरिरहेको एसपी लिम्बूले बताए ।

लागुऔषध नियन्त्रणका लागि प्रहरी सक्रिय देखिए पनि सीमाको सहज पहुँच, स्थानीय राजनीतिक संरक्षण र जनचासोको अभावले चुनौती कायमै रहेको सरोकारवाला बताउँछन् । कार चढेर घुम्न निस्किएका जस्तो देखिने लागुऔषध कारोबारीको सञ्जाल भत्काउने अभियानमा प्रहरी रहेको जानकारी लिम्बूले दिए । प्रहरीका अनुसार लागुऔषध कारोबारीको सञ्जाल भत्काउन सीमावर्ती क्षेत्रहरूमा प्रविधियुक्त निगरानी, स्थानीय तहको संलग्नता र जनसहभागिता अत्यावश्यक देखिन्छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.