
विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–८ तीनकुनेबाट प्रहरीले लागुऔषध गाँजा ३४ किलोग्राम बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले चतराबाट प्रकाशपुरतर्फ जाँदै गरेको को ३७ प १२५३ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो । मोटरसाइकलमा राखेर २ वटा जेब्रा झोलामा राखेर ल्याउँदै गरेको अवस्थामा गाँजा बरामद भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।
उनका अनुसार गाँजा र मोटरसाइकलसहित २ जना पक्राउ परेका छन् । मोटरसाइकल चालक उदयपुरको बेलका नगरपालिका–८ का २२ वर्षीय धीरज राई र पछाडि सवार बेलका–७ का ३१ वर्षीय लोकेन्द्र राईलाई पक्राउ गरिएको जानकारी खतिवडाले दिए ।
पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

























