विराटनगरमा चोरी गर्ने महिलाको गिरोह : भारतबाट आउँथे, चोरेर फर्किन्थे

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १३, शुक्रबार १७:४९

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा सिटी सफारीमा चढेका यात्रुको साथमा भएको नगद र गरगहना चोरी गर्ने भारतीय महिलाको समूह सक्रिय रहेको पाइएको छ ।

चोरीमा संलग्न गिरोहका ३ जना पक्राउ परेका छन् । भारत बिहारको पूर्णिया घर भएका २४ वर्षीया प्रियंका धामी, २५ वर्षीया बिहोला धामी र २० वर्षीया अटकारी धामीलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता, डीएसपी कोपिला चुँडालले बताइन् ।

सिटी सफारीमा चढेर यात्रा गर्नेको साथबाट बारम्बार नगद र गहना चोरी हुन थालेपछि प्रहरीले निगरानी बढाएको थियो । त्यस क्रममा ३ जनालाई पक्राउ गरिएको चुँडालको भनाइ छ । उनका अनुसार सफारीमा यात्रा गरिरहेका १ जना वृद्धको साथबाट चोरी गरिएको ३ लाख रूपैयाँसहित उनीहरुलाई पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याइएको हो ।

पक्राउ परेकाहरुले मोरङको कटहरी गाउँपालिका–४ का ७० वर्षीय नारायणप्रसाद काफ्लेको साथमा भएको रकम चोरी गरेको प्रहरीले जनाएको छ । विराटनगरस्थित बैंकबाट रकम निकालेका काफ्ले बिहीबार सफारी चढेर आफ्नो घरतर्फ जाँदै थिए । उक्त सफारीमा ३ जना महिला पनि चढे ।

शंकास्पद महिलाहरु विराटनगरमा देखिएको जानकारी पाएको प्रहरीले त्यसअघि नै उनीहरुमाथि निगरानी बढाएको थियो । सफारीको पिछा गर्दै जाने क्रममा कटहरी–१ बुधहाटबाट तीनै जनालाई नियन्त्रणमा लिइएको डीएसपी चुँडालको भनाइ छ । उनका अनुसार नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा वृद्धको साथमा भएको रकम चोरी गरेर लुकाइछिपाइ राखेको पाइयो ।

बैंकबाट निकालेको रकम भने वृद्धको साथमा थिएन । पैसा राखेको झोला मात्रै थियो । पैसा भने महिलाहरुले चोरी गरिसकेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पीडित काफ्ले गम्भीर रोगका बिरामी हुन् । उनले उपचारका लागि रकम झिकेका थिए ।

पक्राउ परेकाहरु लामो समयदेखि विराटनगरमा चोरीमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘उनीहरुले सुरुमा रकम झिक्न बैंकमा र सामान खरिद गर्न पसलमा पुग्ने व्यक्तिको निगरानी गर्दा रहेका छन् । रकम निकालिसकेपछि सफारी चढेर गन्तव्यमा जाने क्रममा ‘रेकी’ गरेर बसेका ती महिला पनि त्यही सफारीमा चढ्ने रहेछन् । अनि रकम चोरी गरेपछि बीचैमा सफारीबाट उत्रिने गरेको पाइयो । मौका मिलेमा सुनचाँदीका गहना पनि चोरी गर्ने रहेछन्,’ मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए ।

उनका अनुसार चोरी गरिसकेपछि ती महिलाहरु फर्किएर भारततिरै जाने गरेको पाइएको छ । अनि पुनः विराटनगर आएर त्यही शैलीमा चोरी गर्ने गरेको पत्ता लागेको जानकारी एसपी चिमरियाले दिए । ‘बैंकका ग्राहाक र पसलमा सामान खरिद गर्नेहरु सफारीमा चढेर गन्तव्यमा जाने क्रममा चोरीमा संलग्न भारतीय महिलाहरुले निगरानी गर्ने गरेको पाइयो । विशेष गरेर असहाय र वृद्ध उमेर समूहकालाई ‘तार्गेट’ गर्दा रहेछन् । साथमा बोकेको झोलाबाट नगद र गहना चोरी गरेपछि निस्किएर हिँड्ने गरेको पत्ता लाग्यो,’ उनी भन्छन् ।

लामो समयदेखि विराटनगरमा सफारी चढेर यात्रा गर्नेहरुको साथबाट नगद र गहना चोरी हुने गरेको गुनासो प्रहरीमा पुगिरहेको थियो । तर, चोरीमा संलग्नहरु पक्राउ परेका थिएनन् । निगरानी बढाउँदा अन्ततः सफारीमा यात्रारत यात्रुको नगद र गहना चोरीमा संलग्न भारतीय महिलाको गिरोहलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

एसपी चिमरियाका अनुसार पक्राउ परेका महिलाविरुद्ध चोरी मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ । उनले नगद र गहना चोरी हुने सम्भावना रहने भएकाले भाडाका सवारीसाधनमा यात्रा गर्दा सावधानी अपनाउन पनि सबैमा अनुरोध गरेका छन् ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.