विराटनगरमा बीभत्स हत्या : जन्मकैदको फैसला, १७ वर्षपछि पक्राउ

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १४, शनिबार १४:१८
फोटो क्याप्सन : १७ वर्षअघिको हत्याका अभियुक्त राजकुमार सहनी ।

विराटनगर । विराटनगरमा १ जना व्यक्तिको बीभत्स तरिकाले हत्या गरेर फरार भएका अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–१५ घर भइ विराटनगर–१६ मा बस्दै आएका अन्दाजी ३५ वर्षीय राजकुमार सहनीलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । उनका अनुसार २०६५ साउन २६ गते विराटनगर–१५ का १७ वर्षीय शम्भुकुमार सहनीको हत्या भएको थियो ।

धारिलो हतियारले प्रहार गरेर हत्या गरेपछि २ टुक्रा पारेर विराटनगर–१६ स्थित नहरमा फालेको अवस्थामा २०६५ साउन २८ गते शम्भुको शव फेला परेको थियो । त्यतिबेला हत्या गरेपछि बोरामा पोको पारेर फालेको क्षतविक्षत अवस्थाको शव नहरमा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसन्धानबाट हत्यामा राजकुमार सहनीलगायतको संलग्नता पुष्टि भएको थियो । ‘राजकुमारलगायतका व्यक्तिहरुले मृतक शम्भुलाई घरबाटै बोलाएर लगेका रहेछन् । बीभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा २ दिनपछि शव भेटिएको हो । हत्यामा संलग्नहरु लामो समयदेखि फरार थिए,’ प्रहरी स्रोतले भन्यो ।

हत्यामा संलग्नमध्ये राजकुमार बल्ल पक्राउ परेका हुन् । घटनामा दोषी ठहर गर्दै जिल्ला अदालत मोरङले २०७७ माघ २० गते उनलाई जन्मकैदको फैसला सुनाएको थियो । कर्तव्य ज्यान मुद्दामा अदालतको फैसला अनुसार राजकुमारले २० वर्ष कैद बस्नुपर्ने हुन्छ ।

अदालतले दोषी ठहर गदै जन्मकैदको सजाय सुनाएको भए पनि उनी लामो समयदेखि भागिरहेका थिए । सजाय भुक्तान नगरिकन फरार बनेका राजकुमारलाई प्रहरीले घटना भएको १७ वर्षपछि पक्राउ गरेको हो ।

राजकुमार नेपाल–भारत सीमा क्षेत्रनजिक विराटनगर–१५ स्थित १ नम्बर ढाटबाट पक्राउ परेको डीएसपी चुँडालले बताइन् । इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई र इलाका प्रहरी कार्यालय रानी सीमाबाट खटिएको सई सुवास अधिकारीसहितको टोलीले शुक्रबार साँझ ६ बजेतिर उनलाई पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार शम्भुको हत्या गरेपछि राजकुमार लामो समयसम्म भारतमा लुकेर बसेको पाइएको छ । प्रहरीले उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङमा बुझाउने तयारी गरेको छ । अदालतले कामतलाई सजाय भुक्तानका लागि कारागार चलान गर्ने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.