मोरङको धनपालथानमा नाबालिकाको हत्या : काकाले बलात्कार गरेर मारे, घटना लुकाउन शव फालिदिए

Share this
691shares
मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८२ असार १५, आइतबार १०:४४
फोटो क्याप्सन : बालिकाको हत्यापछि भावविह्वल भएका आफन्त ।

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५ की नाबालिकाको हत्यामा आफ्नै काकाको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ ।

बलात्कार गरेर भतिजीलाई मारेपछि घटना लुकाउन शव फालिदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । अक्षय सरदारकी छोरी ७ वर्षीया आत्तिका सरदारको शव शनिबार बिहान घरबाट करिब सय मिटर पर रहेको दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा फेला परेको थियो ।

अनुहार, घाँटीलगायत शरीरका विभिन्न भागमा चोटपटक रहेको अवस्थामा शव भेटिएपछि हत्या भएको निष्कर्ष निकालेर प्रहरीले अनुसन्धान सुरु गर्यो । अनुसन्धानका क्रममा नाबालिकाका कान्छा काका अनिष सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रारम्भिक सोधपुछका क्रममा उनले घटना स्वीकार गरेनन् । प्रमाण संकलन गर्दै थप अनुसन्धान अघि बढाएको प्रहरीले नाबालिकाको हत्यामा आफ्नै काका अनिष संलग्न रहेको निष्कर्ष निकालेको हो ।

‘उनी (अनिष) अहिले मानसिक रूपमा विक्षिप्तजस्तै छन् । आफ्ना कुरा राम्ररी बताउन सक्दैनन् । कहिले घटना गराएको हो भन्छन् । कहिले हैन भन्छन्,’ प्रहरी स्रोतले भन्यो । घटना भएका बेला वरपर अरु मानिसको ‘मुभमेन्ट’ नदेखिएको र काकासँगै रहेकी नाबालिकाको हत्या भएको पाइएपछि हत्यामा अनिषको संलग्नता यकिन भएको स्रोतको भनाइ छ ।

यद्यपि, प्रहरीले मेडिकल रिपोर्टलगायतका प्रमाण संकलनको काम गरेर गम्भीर ढंगले अनुसन्धान गरिरहेको छ । ‘आफूसँगै सुतेकी नाबालिका भतिजीलाई घर बाहिर निकालेर बलात्कार गरेको पाइयो । त्यसपछि घटना खुल्ने डरले हत्या गरेर शव नजिकै रहेको विद्यालय छेउमा फालेर उनी फर्किएको देखिन्छ,’ प्रहरी स्रोतको भनाइ छ ।

अनिष आफूले अघिल्लो साँझ मदिरा सेवन गरेको स्वीकार गरेका छन् । प्रहरी अनुसार शवको प्रकृति हेर्दा मुख थुनेर वा घाँटी बटारेर हत्या गरेजस्तो देखिन्छ । भतिजीको शव फालेर आएपछि अनिष घरमै बसेका थिए । आत्तिकाका बाबुआमा भने काम विशेषले बाहिर गएका थिए ।

सन्तानलाई हजुरआमाको जिम्मा लगाएर आमाबुवा बाहिर गएका बेला घटना भएको हो । आत्तिकाका बाबु अक्षय भारत मनिहारी गएका थिए । पत्नी माइतीघर गएकी थिइन् । अरु बेला पनि काम परेर बाहिर जानु पर्दा अक्षय र उनकी पत्नीले सन्तान आमालाई छाडेर जाने गरेका थिए ।

बुवाआमाले जिम्मा लगाएपछि आत्तिका र उनका भाइ हजुरआमासँग बसे । राति काका अनिषसँग सुते । भतिजी र भतिजलाई लिएर अनिष अलग्गै घरमा सुतेका थिए । अर्को घरमा सुतेकी हजुरआमा बिहान उठेर नातिनातिना सुतेको घरमा आइन् ।

ओछ्यानमा हेर्दा नातिनी देखिनन् । हल्लाखल्ला भयो । त्यसपछि गाउँमा बच्च चोरी भएको हल्ला चल्यो । खोजी गर्ने क्रममा हत्या गरेर फालेको अवस्थामा आत्तिकाको शव भेटियो । घरभित्रै बलात्कार गर्दा भतिजले थाहा पाउने भएकाले अनिषले भतिजीलाई घरबाट बाहिर लगेर बलात्कार गरी त्यसपछि हत्या गरिदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले नाबालिकाको हत्यासँग सम्बन्धित प्रमाण जुटाउने काम भइरहेको बताइन् । ‘घटनामा काकाकै संलग्नता हो कि भन्ने आशंका छ । त्यसलाई तथ्य र प्रमाणले पुष्टि गर्नुपर्ने हुन्छ । ‘मेडिकल रिपोर्ट’हरु हेर्दैछौं । अनुसन्धानबाट वास्तविकता खुल्दै जान्छ,’ उनले भनिन् ।

नाबालिकाको शवको पोस्टमार्टम विराटनगरको कोशी अस्पतालमा भएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि घटनाका बारेमा प्रष्ट हुने डीएसपी चुँडालको भनाइ छ । उनका अनुसार प्रहरी नियन्त्रणमा रहेका अनिषले घटना स्वीकार गरिसकेका छैनन् । घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया आफैं घटनास्थल पुगेका थिए ।

भतिजीको हत्यामा काकाकै संलग्नता रहेको निष्कर्षमा पुगेको प्रहरीले अनिषविरुद्ध हाडनाता करणी र कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरेको छ । उनीविरुद्ध मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउने तयारी प्रहरीले गरेको हो ।

आफन्त अमृताकुमारी चौधरीले घटनापछि गाउँ नै स्तब्ध भएको बताइन् । ‘गाउँमा त्रास फैलिएको छ । घटना भयानक र दर्दनाक थियो । निष्पक्ष अनुसन्धान गरेर हत्यारामाथि कारबाही हुनुपर्छ,’ उनले भनिन् ।

मोरङमा बलात्कारपछि बालिकाको हत्या आशंका, जिम्मा लगाइएका काकामाथि अनुसन्धान हुँदै

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.