
विराटनगर । सुनसरीमा एउटा नानो कारभित्र ठूलो परिमाणमा गाँजा फेला परेको छ । गाँजा ओसारपसारमा संलग्न २ जना पक्राउ परेका छन् ।
बराहक्षेत्र नगरपालिका–५ तीनकुनेबाट प्रहरीले शनिबार साँझ ७ः३० बजेतिर एउटा नानो कारलाई नियन्त्रणमा लिएको थियो । प्रहरी चौकी भरौलबाट खटिएको टोलीले धरान हुँदै कालाबञ्जारतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज ४६३७ नम्बरको कार नियन्त्रणमा लिएर खानतलासी गर्दा गाँजा फेला परेको हो ।
त्यसलगत्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी चौकी नहडाबाट पनि टोली पुगेको थियो । कार चेकजाँच गर्दा ६ वटा कालो प्लाष्टिकको पोकामा प्याक गरेर राखिएको अवस्थामा १ सय २० किलोग्राम गाँजा बरामद भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।
कारमा गाँजा फेला परेलगत्तै प्रहरीले कार चालक विराटनगर महानगरपालिका–४ इक्राहीका २६ वर्षीय धीरज गोसाई र कारमा सवार मोरङको जहदा गाउँपालिका–७ का २२ वर्षीय विकास यादवलाई पक्राउ गरेको छ । पक्राउ परेका २ जनासहित नियन्त्रणमा लिइएको कार र बरामद भएको गाँजा इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ ।
यस विषयमा इन्स्पेक्टर दिवश कुँवर नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ । गाँजा कहाँबाट ल्याएको हो र कहाँसम्म लैजान खोजिएको थियो भन्ने खुल्न बाँकी छ ।

























