
विराटनगर । सुनसरीको धरानबाट हाडनाता करणी मुद्दाका प्रतिवादी दाजुभाइ पक्राउ परेका छन् ।
सुनसरी अदालतले दोषी ठहर गर्दै कैदको फैसला गरेको भएपनि सजाय भुक्तान नगरि फरार भएका दाजुभाइ पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले घर आसपासदेखि उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।
धरानका इन्स्पेक्टर कोमल ठाकुरका अनुसार पक्राउ पर्नेमा राई थरका २ जना दाजुभाइ छन् । दाजु ४० र भाइ ३० वर्षका छन् ।
यो मुद्दासँग अनौठो संयोग छ । पीडित र पीडक एउटै परिवारभित्रका हुन् । पीडक दाजुभाइ (एउटै बाबुका छोरा) । पीडित उनीहरुको बुहारी र भाउजू पर्छिन् । घटना मिति, स्थान, जाहेरी र मुद्दा फरक–फरक रहेको ठाकुरले बताए ।
अदालतले मुद्दाको फैसला भने एकैदिन गरेको छ । प्रहरीले दिएको विवरण अनुसार फैसला २०८१ पुस ९ गते भएको थियो । समान कैद र जरिबाना तोकिएको छ ।
जनही १० वर्ष ७ महिना २ दिन कैद र ४० हजार रूपैयाँ जरिबाना तिराउने फैसला भएको हो ।
सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले पक्राउ गरिएका दुवै प्रतिवादीलाई अदालतमा पेस गरिएको बताए ।

























