
विराटनगर । विराटनगरमा ५ दिनअघिको अपहरण र लुटपाटको घटना बल्ल सार्वजनिक भएको छ ।
आफूलाई प्रहरी बताउने समूहले असार ११ गते बिहान लुटपाट मच्चाएको हो । लुटपाटमा संलग्न गिरोहका २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ का अन्दाजी २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २६ वर्षीय आशिव अन्सारी रहेका छन् ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार दुवै जनालाई आइतबार पक्राउ गरिएको हो । आफूलाई प्रहरी बताउने ३ जनाको समूहले असार ११ गते बिहान ११ः१५ बजेतिर व्यक्तिलाई अपहरण गरेर लुटपाट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार त्यो समूहले विराटनगर–१५ का विक्रमकुमार साहलाई सुरुमा नियन्त्रणमा लिएर अपहरण गरेको थियो । विक्रम विराटनगर–१३ को महतो टोलबाट अपहरणमा परेका थिए । मोटरसाइकल र स्कुटरमा रहेका ३ जनाले महतो टोलबाट अपहरण गरी विराटनगर आँखा अस्पताल छेउ हुँदै रेल–वे लाइनमा पुर्याएर उनीसँग भएको रकम लुटेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार भिनाजु विराटनगर–१५ का धर्मानन्द साहले दिएको ३ लाख ६४ हजार रूपैयाँ लिएर जम्मा गर्न विक्रम बैंकतिर जाँदै थिए । सापटी लिएको रकम बोकेर जाँदै गरेका बेला अपहरण गरेर लुटपाट मच्चाइएको प्रहरीको भनाइ छ ।
धर्मानन्दका अनुसार ‘प्रहरी हौं’ भन्दै विक्रमलाई नियन्त्रणमा लिएको समूहले ‘पछाडि फर्किएर हेरेमा मारिदिन्छौं’ भन्दै धम्क्याएका थिए । हल्ला गरेमा मारिदिने धम्की दिँदै लुटेरा समूहले साथमा भएको रकम लुटपाट गरेर विक्रमलाई छाडिदिएको उनको भनाइ छ ।
प्रहरीका अनुसार अपहरण तथा लुटपाटमा संलग्न समीर हुसेन र तासिब अन्सारी पक्राउ परे पनि अझै १ जना फरार छन् । फरार रहेकाको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाविरुद्ध अपहरण तथा शरीर बन्धक र डाँका मुद्दा चलाउने प्रहरीको तयारी छ ।

























