मोरङमा धमाधम पक्राउ पर्दै फरार प्रतिवादी, एकै दिन ६० जनालाई बुझाइयो अदालत

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १६, सोमबार १९:१८

विराटनगर । मोरङमा विभिन्न अपराधमा संलग्न भएर फरार बनेका प्रतिवादी धमाधम पक्राउ परिरहेका छन् ।

विभिन्न मुद्दामा अदालतले दोषी ठहर गर्दै कैद तथा जरिबानाको फैसला गरे पनि सजाय भुक्तान नगरिकन लामो समयदेखि भागिरहेकाहरुलाई पक्राउ गर्न प्रहरीको विशेष टोली नै परिचालन गरिएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार आइतबार एकै दिन ६० जना प्रतिवादीलाई अदालतमा बुझाइएको छ ।

असार १ गतेबाट १५ गतेसम्ममा मोरङबाट १ सय ९१ जना प्रतिवादी पक्राउ परेको उनले बताइन् । १ सय ९१ जना प्रतिवादी पक्राउ पर्दा ३४ वर्ष २ महिना १९ दिन कैद र ६ लाख २६ हजार १ सय ४९ रूपैयाँ जरिबाना असुल भएको जानकारी डीएसपी चुँडालले दिइन् ।

मोरङ प्रहरीले चालु आर्थिक वर्षको हालसम्म ९ सय ७९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ परेकाबाट २ सय ६२ वर्ष १ महिना २६ दिन कैद र १ करोड ४८ लाख ७३ हजार ९ सय ५३ रूपैयाँ जरिबाना असुल भएको चुँडालको भनाइ छ ।

प्रहरीले फरार रहेका प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाउने गरेको छ । अदालतले कैदको फैसला भएकालाई सजाय भुक्तानका लागि कारागार चलान गर्ने गरेको छ । जरिबाना तोकिएकाहरु त्यसबापतको रकम बुझाएर छुट्ने गरेका छन् । रकम बुझाउन नसक्नेलाई कारागार चलान गरिन्छ ।

जघन्यदेखि सामान्य अपराधमा दोषी ठहर भएर पनि सजाय भुक्तान नगरिकन भागिरहेका प्रतिवादीलाई पक्राउ गर्न विशेष अभियान चलाइएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए । उनका अनुसार अदालतको फैसला कार्यान्वयनअन्तर्गत सूक्ष्म अनुसन्धान गरेर खोजी तीव्र पारिएसँगै प्रतिवादीहरु धमाधम पक्राउ परिरहेका छन् ।

अदालतबाट दोषी ठहर भए पनि अपराधमा संलग्न भएका ठूलो संख्याका प्रतिवादीहरु कैद र जरिबाना भुक्तान नगरिकन भागिरहेका छन् । फरार प्रतिवादी पक्राउ गरेर अपराधीलाई कानुनले छाड्दै भन्ने सन्देश प्रवाह गरिएको एसपी चिमरिया बताउँछन् ।

अपराधीलाई पक्राउ पर्दा समाजमा अपराध न्यूनीकरणमा मद्धत पुग्ने उनको भनाइ छ । अदालतबाट भएको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखेर अपराधीलाई पक्राउ गर्दै समाजमा अपराध न्यूनीकरणका लागि प्रहरीले सकारात्मक भूमिका खेलिरहेको एसपी चिमरिया बताउँछन् ।

घरगाउँमै लुकिछिपी बसिरहेका प्रतिवादीहरु धामाधम पक्राउ पर्न थालेपछि अपराधबाट पीडित भएकाहरुले न्यायको महसुस गर्न थालेको उनको भनाइ छ । उनका अनुसार जघन्यदेखि विभिन्न अपराधमा संलग्न अपराधीहरु लामो समयदेखि पक्राउ नपर्दा पीडितले न्यायको अनुभूति गर्न नपाउनु स्वभाविक हो ।

अपराधीलाई कानुनको कठघरामा ल्याइसकेपछि प्रहरीको काम कारबाहीप्रति जनविश्वास बढ्न थालेको एसपी चिमरियाले बताए । अपराधमा संलग्न कारबाहीको दायरामा नआउँदा कानुन कार्यान्वयनमा चुनौती थपिनुका साथै पीडितले न्यायको अनुभूति गर्न नपाउने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.