कर्मचारीलाई हातपातको आरोपमा पक्राउ परेका लिम्बूलाई ७ दिन म्याद थप

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १८, बुधबार १९:१८

विराटनगर  । मोरङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुखलाई हातपात तथा गालीगलौज गरेको आरोपमा पक्राउ परेका राम लिम्बूलाई थुनामा राखेर अनुसन्धान गर्न ७ दिन म्याद थप गरिएको छ । 

खेलकुद कार्यालयका प्रमुख राजन पोखरेलमाथि कराँते खेल आवद्ध लिम्बूले जेठ २२ गते कार्यकक्षमा काम गर्दैगर्दा हातपात र गालीगलौज गरेको जाहेरी दर्ता भएपछि असार १५ गते सहिद रंगशालाबाट लिम्बूलाई पक्राउ गरिएको मोरङ प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । 

पक्राउ परेका लिम्बूविरुद्ध अभद्र व्यवहारमा जाहेरी दर्तापछि जिल्ला प्रशासन कार्यालय मोरङले हिरासतमा राखेर घटनाको अनुसन्धान गर्नका लागि ७ दिनको म्याद थप गरेको प्रहरी निरीक्षक ओलीले बताए । 

लिम्बूलाई पक्राउ परेको मिति असार १५ गतेदेखि लागू हुने गरी ७ दिनको म्याद थप गरेको हो । 

१५ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा कराँते खेलाडी छनोटको विषयमा विवाद हुँदा लिम्बूले पोखरेललाई हातपात गर्नुका साथै गालीगलौज गरेको बताइएको छ ।

घटनापछि लिम्बू फरार रहेका थिए । असार १५ गते कार्यालय प्रमुख पोखरेललगायत सँग छलफल गर्नका लागि लिम्बू रंगशाला आएको समय प्रहरीले पक्राउ गरेको थियो । 

लिम्बूलाई पक्राउ गर्ने माग गर्दै मोरङ जिल्ला खेलकुद कर्मचारी संघले कार्यालयमा तालाबन्दी गरेको थियो ।

घटनामा संलग्न लिम्बूलाई प्रहरीले पक्राउ गरेपछि कार्यालयमा लगाईको तालाबन्दी खोलेर कार्यालयको काम कारबाही सुचारु भएको मोरङ जिल्ला खेलकुद विकास कर्मचारी संघ मोरङका अध्यक्ष प्रकाश मल्लले जानकारी दिए   । 

पक्राउ परेका लिम्बूविरुद्ध मोरङ जिल्ला अदालतमा बैंकिङ कसुरअन्तर्गत चेक बाउन्स मुद्दा विचाराधीन रहेको प्रहरीले जनाएको छ ।

लिम्बूमाथि १ लाख २० हजार रुपैयाँ बिगो रहेको चेक बाउन्स मुद्दामासमेत प्रहरीले अदालतमा उपस्थित गराउने प्रहरीले जनाएको छ । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.