झापामा कुटपिटबाट २ किशोरको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १९, बिहीबार ११:२१

झापा । झापाको शिवसताक्षी नगरपालिकामा कुटपिटका कारण २ जना किशोरको मृत्यु भएको छ ।

ट्युसनबाट फर्कंदै गर्दा आफ्नै साथीहरुको कुटाइबाट संगम चोकका १५ वर्षीय आदित्य तामाङको मृत्यु भएको हो । उनको उपचारका क्रममा बिर्तामोडको बी एन्ड सी अस्पतालमा बुधबार दिउँसो मृत्यु भएको झापा प्रहरीका निमित्त प्रवक्ता एवं इन्स्पेक्टर प्रवीण श्रेष्ठले जानकारी दिए ।

Advertisement

उनका अनुसार यसअघि आइतबार आदित्यकै मिल्ने साथी रोमन थापाको पनि बिर्तासीटी अस्पतालमा मृत्यु भएको थियो । एउटै समूहको कुटपिटबाट दुवै जनाको मृत्यु भएको इन्स्पेक्टर श्रेष्ठले बताए ।

प्रहरीका अनुसार केही दिनअघि ट्युसन पढेर फर्कंदै गरेका आदित्य र रोमनमाथि ध्रुवतारा अंग्रेजी माध्यमिक विद्यालयका केही विद्यार्थीले कुटपिट गरेका थिए । प्रत्यक्षदर्शी विद्यार्थीका अनुसार ती किशोरहरूले सुरुमा सामान्य रुपमा कुटपिट गरेर ‘जा’ भन्दै पठाएका थिए । तर, केही बेरपछि उनीहरूलाई फेरि बोलाएर त्यही समूहले आक्रमण गर्यो ।

कुटपिटपछि आदित्यले घरमा केही बताएका थिएनन् । भोलिपल्ट उनी ट्युसन सेन्टरमा गएनन् । तर, विद्यालय गएका थिए । विद्यालयमा उनले अनुहार सुन्निएको र ढाड दुखेको बताए । स्वास्थ्य झन् बिग्रँदै गएपछि मात्र उनलाई गत शुक्रबार अस्पताल भर्ना गरिएको थियो । ५ दिनसम्म उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नभएका उनको अन्ततः मृत्यु भएको प्रहरीले जनाएको छ ।

आदित्य र रोमन एउटै ट्युसन सेन्टरमा हुन्थे । दुवै जना सँगसँगै हुने गरेको र उनीहरुलाई एउटै समूहले आक्रमण गरेको पाइएको प्रहरीले जनाएको छ । आक्रमणमा संलग्नमध्ये ६ जना किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरू सबैले प्रारम्भिक बयानमा घटनामा संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनामा अन्य व्यक्तिहरू पनि संलग्न हुनसक्ने आशंका गरिएको छ । नियन्त्रणमा लिइएका किशोरहरू विद्यालय पढ्ने उमेरका छन् ।

आक्रमणमा संलग्न भनिएका अधिकांश विद्यार्थीहरू ध्रुवतारा अंग्रेजी माध्यमिक विद्यालयका रहेको खुलेको छ । घटनापछि विद्यार्थीहरूबीच तनावको अवस्था देखिएको छ ।

कुटपिट भएको भोलिपल्ट विद्यालयमा केही साथीहरूले दोषीमाथि प्रतिशोध लिनुपर्ने बताएका थिए । तर, आदित्यले उल्टै ‘छोडिदेऊ, झगडा नगरौं’ भनेर आफ्ना साथीहरूलाई सम्झाएको उनका सहपाठीहरूले बताएका छन् ।

दुवै मृतकका परिवारले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । उनीहरूले दोषीमाथि कडा कानुनी कारबाही गर्न पनि आग्रह गरेका छन् । आमाबुवाले आफ्ना छोराहरू सामान्य ट्युसन पढ्न गएका थिए । तर, लासमा परिणत भएर फर्किएको भन्दै आक्रोश पोखेका छन् ।

स्थानीयले समेत विद्यालयको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् । शिवसताक्षीमा बढ्दो किशोर ग्याङ गतिविधि र विद्यालय परिसरबाहिरको असुरक्षित वातावरणले स्थानीय चिन्तित बनेका छन् ।

घटनामा संलग्नहरु नाबालक हुन् । उनीहरुमाथि बाल अपराधसम्बन्धी ऐनअनुसार कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ । घटनाको थप अनुसन्धान भइरहेको इन्स्पेक्टर श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.