मिटरब्याज आराेपी रामकुमार कामत : वडाध्यक्षलाई जग्गा फिर्ता गर्ने, रामवतीलाई के गर्ने ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १९, बिहीबार १५:४०

विराटनगर । राजनीतिक आडमा मिटरब्याजकाे धन्दा चलाइरहेका नेपाली कांग्रेस कटहरी गाउँपालिका सभापति रामकुमार कामतले जदुलाल कामतलाई जग्गा फिर्ता गर्ने सहमति गरेका छन् ।

कटहरी गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका मिटरब्याज आरोपी रामकुमारबाट ठगिएको भन्दै कटहरी गाउँपालिका– ३ का वडाध्यक्ष जदुलाल कामतले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका थिए । उजुरी परेको समाचार सार्वजनिक भएपछि असार १६ गते रामकुमारले जग्गा फिर्ता गर्ने कागजी सहमति गरेका हुन् ।

Advertisement

जदुलालले जग्गा खरिदका लागि रामकुमारसँग २१ लाख रुपैयाँ २०७४ सालमा ऋण लिएका थिए । रामकुमारकी श्रीमती रुणादेवीकाे नाममा जग्गा पास गरेर लिएकाे ऋणको सावाँब्याज गरी उनले साढे ३५ लाख रुपैयाँ बुझाइसकेका थिए । तर, ऋण लिँदा राखेको धरौटीबापतको जग्गा फिर्ता नगरेको उनको गुनासो थियो ।

कटहरी गाउँपालिका–३ को कार्यालयमा भएको सहमति कागजमा रामकुमारले धरौटीबापत लिएको मध्ये कित्ता नम्बर ८९० को १६९.३० बर्गमिटर जग्गा फिर्ता गर्ने सहमति छ । यो जग्गामा हरि कामत बसेका छन् । हरिले जदुलालसँग जग्गा किनेका थिए ।

रामकुमारले ब्याज बापत लिएको रकम मध्ये ४ लाख रुपैयाँ पनि रकम फिर्ता गर्ने पनि कागज गरेका हुन् ।

उक्त कागज वडा कार्यालयले प्रमाणीकरण गरेको छ । यो कागजको साक्षीको रुपमा विराटनगर महानगरपालिका–८ का अभिषेक गिरी पनि छन् ।

विवादास्पद छवीका गिरी शरीर बन्धक तथा अपहरण मुद्दामा कैद भुक्तान गरी छुटेका व्यक्ती हुन् ।

रामकुमारले पहिले जग्गा फिर्ता गर्नका लागि थप २३ लाख मागिरहेका थिए । तर, विवाद बाहिरिएपछि आफूले लिएको मध्ये ४ लाख रुपैयाँ नगद फिर्ता गर्न राजी भएका हुन् ।

बाँकी जग्गा रामकुमारलाई नै भोगचलन गर्न दिने गरी सहमति भएको जदुलालले बताए । रामकुमार कामतले पनि जदुलाललाई जग्गा फिर्ता गर्न कागज गरेको स्वीकार गरे ।

दुई बीचको सहमतिको जानकारी जिल्ला प्रशासन कार्यालयमा पनि पुगेको छ । ‘अनुचित लेनदेन मुद्दामा सहमति भएको जानकारी आएको छ, लिखित जानकारी छैन,’ सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले भने, ‘सहमतिको कागज मागेका छौं ।’

रामवतीको जग्गा के गर्ने ?

मिटरब्याज आरोपी रामकुमार कामतकै कारण कटहरी गाउँपालिका–२ की ५५ वर्षीय रामवती राजवंशीले १ करोड बढी पर्ने जग्गा गुमाएकी छन् । आठ लाख रुपैयाँ ऋण लिँदा राखेको ८ कट्ठा जग्गा कामतले आफ्नो नाममा सारेपछि उनले जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेनको उजुरी दिएकी छन् । उनको उजुरी बिचाराधीन छ ।

८ लाख रुपैयाँ ऋण लिनका लागि उनले आफ्नो नामको ५ कठ्ठा जग्गा डम्बरकुमारी दाहालको नाममा रजिष्ट्रेसन पास गरेर ५ लाख र ३ कठ्ठा जग्गा लिलावती यादवको नाममा पास गरेर ३ लाख रुपैयाँ लिएकी थिइन् ।

उनले दुवैको सावाँ र ब्याज तिरिन् । तर, लिलावतीबाट रामवतीको जग्गा सन्तोषकुमार मण्डलको नाम हुँदै कटहरी गाउँपालिकाका पूर्वअध्यक्ष रामकुमार कामतको नाममा पुग्यो । डम्बरकुमारी दाहालको नाममा पास गरेको जग्गा सिधै कामतकै नाममा पुग्यो । २०७१ सालमा ८ लाख ऋण लिदा खोसिएको जग्गा फिर्ताका लागि उनले हारगुहार गरिरहेकी छन् ।

जिल्ला प्रशासन कार्यालयमा उनले दायर गरेको उजुरी बिचाराधीन छ । तर रामकुमारलाई छानविन गर्न नेपाली कांग्रेसका नेताले अवरोध गरिरहेका छन् ।

मिटरब्याज आरोपी कामत भने रामवतीको जग्गा आफूले सिधै नभई अरु व्यक्तीबाट खरिद गरेको दाबी गर्छन् । उनकाे आसय जग्गा फिर्ता नगर्ने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.