धरान । सुनसरीको धरान उपमहानगरपालिका–१६ मा २ महिना अघि श्रमदानका क्रममा १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको घटनामा संलग्न १ जना पक्राउ परेका छन् ।
घटनामा संलग्न रहेको आरोपमा धरान–१७ पृथ्वीचोकका ४९ वर्षीय खगेन्द्र राई पक्राउ परेका हुन् । मेयर हर्क साम्पाङ (हर्कराज राई)को नेतृत्वमा भइरहेको श्रमदानका क्रममा बालिकालाई फकाएर खोल्सातिर लगेर यौन दुर्व्यवहार गर्न खोजेको आरोप राईमाथि लागेको छ ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जवेगूका अनुसार पीडितका अभिभावकले किटानी जाहेरी दिएपछि राईलाई पक्राउ गरिएको हो । राई श्रमदानमा सहभागीहरूका लागि खाना पकाउने जिम्मेवारीमा खटिएका थिए।
पीडित बालिका आफ्नी आमासँगै श्रमदान कार्यक्रममा गएकी थिइन्। सो क्रममा राईले बालिकालाई एक्लै पारेर दुर्व्यवहारको प्रयास गरेको पीडित पक्षको भनाइ छ। घटनाको दिन मेयर साम्पाङ भने कार्यक्रममा उपस्थित थिएनन्।
स्थानीयका अनुसार घटना तत्काल प्रहरीसमक्ष नपुग्नुको पछाडि श्रमदानमै संलग्न २ जनाको संलग्नता छ। पीडित पक्षले कुन्दन श्रेष्ठ र समीर तामाङले घटना दबाउन भूमिका खेलेको भन्दै उनीहरूविरुद्ध समेत किटानी जाहेरी दिएका छन्।
पीडितकी आमाले घटनाको दिन आफैंले आरोपीलाई कुटपिट गरेकी थिइन्। तर, उनले प्रहरी बोलाउन लाग्दा श्रेष्ठले उल्टै सम्झाउँदै यस्तो विषयले छोरीको नाम बदनाम हुने, पछि बिहे नहुन सक्ने भन्दै थामथुम गर्ने प्रयास गरेको पीडित पक्षले दाबी गरेको छ।
श्रेष्ठले प्रहरी बोलाउँदा श्रमदानको बदनाम हुने, मानसिक रोगीलाई कुटपिट गर्नुको अर्थ नहुने भन्ने जस्ता तर्क दिँदै पीडित पक्षलाई चुप लगाउने प्रयास गरेको परिवारको भनाइ छ।
घटना जेठ महिनाको भएको हो । तर, प्रहरीलाई औपचारिक जानकारी गराइएको थिएन। यो विषय अहिले आएर मात्रै बाहिर ल्याइएको छ । प्रदेश सरकारको लगानीमा धरान–१६ मा बनिरहेको प्रहरी चौकी भवनको निर्माण मेयर साम्पाङ र उनका समर्थकहरूले रोकिदिएपछि स्थानीय आक्रोशित बने । उनीहरूले श्रमदानको नाममा अन्याय हुँदै आएको आरोप लगाउँदै पुराना मुद्दाहरू पुनः उठाउन थाले र त्यही क्रममा बालिकामाथिको दुर्व्यवहारको कुरा पनि बाहिरिएको हो।
घटना सार्वजनिक भएलगत्तै मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका थिए। उनले आरोप पुष्टि भए दोषीलाई कारबाही गर्न आफू तयार रहेको बताए । तर, उनले घटनाको ढिलोगरी सार्वजनिक भएकामा शंका व्यक्त गर्दै श्रमदानलाई बदनाम बनाउने नियोजित प्रयास भएको आरोपसमेत लगाए।
‘श्रमदान यति वृहद कार्यक्रम हो, जसमा को आउँछ, को जान्छ हामीले थाहा पाउँदैनौं’, साम्पाङले भनेका छन्, ‘एकजनाको व्यवहारलाई लिएर श्रमदानलाई बदनाम नगरौं।’ उनले घटनामा दोषी भेटिएमा कडा कारबाहीको माग गरेका छन्। तर, घटना मेयरको जानकारीमा नरहेको भनिए पनि पीडित पक्षको भनाइमा भने साम्पाङमाथि नै दबाबको आरोप लागेको छ।
पीडित परिवारका अनुसार साम्पाङले आफैँ घटना सुन्ने र मिलाउने भन्दै प्रहरीभन्दा पहिले आफूसँग आउन दबाब दिएका थिए। धरान–१६ का वडाध्यक्ष मुरारी भट्टराईका अनुसार मेयरले आफ्ना अधिकार क्षेत्रभन्दा बाहिर गएर कारबाहीको चेतावनी दिँदा पीडित परिवार त्रसित भयो र ढिलो गरी प्रहरीकहाँ पुग्यो।
साम्पाङले आफ्नो फेसबुक स्टाटस विवादित बनेपछि हटाएका थिए । उनले फेसबुक लाइभमार्फत श्रमदानको बदनाम नहोस् भन्ने आग्रह गर्दै दोषीलाई नछाडिने आश्वासन दिएका छन्।
यो घटनाले धरानको राजनीतिक असहमतिलाई थप चर्काएको छ। पाठशालामा खोलाले कटान गरेपछि सुरु भएको तारजाली लगाउने श्रमदान कार्यक्रममा जुटेका श्रमदाताहरूले उपभोक्ता समिति बनाएर बिल पेस गरेका थिए। तर, उपमेयर आइन्द्रविक्रम बेघाले रकम निकासा रोकेपछि श्रमदान कार्यक्रममै विवाद भएको थियो। मेयर साम्पाङ र उपमेयर बेघाबीचको विवादका कारण धरान उपमहानगरपालिकाले बजेटसमेत ल्याउन सकेको छैन।