
विराटनगर । काठमाडौं घर भएका २ जना युवा विराटनगरबाट शनिबार साँझ पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–३ का २१ वर्षीय अनमोल भण्डारी र २० वर्षीय प्रज्वल बस्नेतलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी प्रवक्ता एसपी दीपक पोखरेलले बताए । उनका अनुसार लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
भारतको जोगवनीबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) खरिद गरेर आउँदै गरेका उनीहरुलाई विराटनगर महानगरपालिका–१६ बाट पक्राउ गरिएको जानकारी एसपी पोखरेलले दिए । उनका अनुसार पक्राउ परेकाको साथबाट २० ग्राम ३७ मिलिग्राम खैरो हेरोइन बरामद भएको छ ।
भण्डारी र बस्नेतविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।

























