
भोजपुर । भोजपरको रामप्रसादराई गाउँपालिका– २ धोद्नेखानीमा हत्या गरिएका एकै परिवारका ४ जनाको शवको पोस्टमार्टम धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।
४ वटै शवलाई पोस्टमार्टमका लागि सोमबार धरान पठाइएको थियो । मृतक सबैको शव आइतबार भोजपुर अस्पताल पुर्याइएको थियो । त्यहाँ ‘फरेन्सिक’ जाँच गर्ने उपकरण नभएको र घटना गम्भीर रहेको भन्दै शवहरु पोस्टमार्टमका लागि धरान पठाइएको थियो ।
धरानमा पोस्टमार्टमपछि शवहरु आफन्तले बुझिसकेको भोजपुर प्रहरीका निमित्त प्रमुख, इन्स्पेक्टर दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृतकका ज्वाइँ रामप्रसादराई–३ बस्ने २९ वर्षीय मानबहादुर पुरीलगायतका आफन्तलाई शव जिम्मा लगाइएको छ ।
आफन्तले शव बुझेर अन्त्येष्टिका लागि लगेका छन् । सबै शवको अन्त्येष्टि इटहरीस्थित बूढीगंगा घाटमा गर्ने तयारी छ । भोजपुर नगरपालिका–२ का ३० वर्षीय राजेन्द्र राईले पत्नी १६ वर्षीया मनिषा गिरी, ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासू ४५ वर्षीया मञ्जु गिरी र सालो ९ वर्षीय सपन गिरीको हत्या गरेको प्रहरीले जनाएको छ ।
शनिबार राति हत्या गरेपछि राईले नै प्रहरीलाई घटनाको जानकारी गराएका थिए । उनी पनि शरीरका २–३ ठाउँमा चोट रहेको घाइते अवस्थामा भेटिएका थिए । राईको धरानमै उपचार भइरहेको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
गिरी दम्पतीका ४ छोरा र २ छोरी थिए । ३ छोरा र १ छोरी काठमाडौंमा बस्दै आएको प्रहरीले जनाएको छ । घरमा १ छोरी र १ छोरासहित गिरी दम्पती बस्दै आएका थिए ।
घरमा बस्दै आएका सबैको हत्या भएको इन्स्पेक्टर श्रेष्ठले बताए । उनका अनुसार गिरी दम्पतीले छोरीलाई फिर्ता नपठाएको र माइतीमै राखेको विषयमा विवाद भएपछि राजेन्द्रले छुरा प्रहार गरेर सबैको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

























