युनुस अन्सारी कारागार चलान

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २३, सोमबार १९:०८

काठमाडौं । सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइएका युनुस अन्सारीलाई कारागार चलान गरिएको छ ।

धरौटीबापतको रकम नबुझाएपछि उनलाई सोमबार कारागार चलान गरिएको हो । उनी केन्द्रीय कारागार सुन्धारा चलान भएका छन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश बलराम लम्सालको इजलासले अन्सारीलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, अन्सारी पक्षबाट धरौटी नबुझाइने सूचना दिइएपछि अदालत प्रशासनले उनलाई कारागार पठाएको हो।

उनीमाथि ९ करोड ९ लाख रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेको थियो । आइतबार बयान सकिएपछि सोमबार थुनछेक बहस भएर अदालतको आदेश आएको हो ।

उनी छुट्ने सम्भावना प्रबल देखिएकाले आफन्तहरू पनि लिन पुगेका थिए। तर, अन्सारीले अघिल्लो कारागार जीवनको अनुभव र हालको सुरक्षा चुनौतीलाई ध्यानमा राखेर धरौटी नबुझाएको अनुमान गरिएको छ।

२०६७ सालमा केन्द्रीय कारागारभित्रै भारतीय नागरिकबाट अन्सारीमाथि गोली प्रहार भएको थियो। २०७६ मा ७ करोड बराबरको नक्कली नोटसहित पक्राउ परेका अन्सारी ६ वर्ष जेल बसेर जेठ १० गते छुटेका थिए। त्यसपछि सीआईबीले फेरि पक्राउ गरी सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.