कागज किर्ते काण्डमा जनकपुर विकास परिषद्का अध्यक्ष शीतल साह पक्राउ

Share this
626shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २३, सोमबार २०:०८

जनकपुरधाम । हस्ताक्षर किर्ते गरेर कर्मचारी बर्खास्त गरेको आरोप लागेका बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह पक्राउ परेका छन् ।

मुद्दा दर्ता भएसँगै फरार रहेका उनलाई प्रहरीले सोमबार जनकपुरधामबाट पक्राउ गरेको हो। धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार साहलाई पक्राउ गरेर जिल्ला अदालत धनुषामा पेस गरिएको छ।

अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ। साहमाथि परिषद्का कार्यकारी निर्देशक बैजनाथ पासवानको हस्ताक्षर नक्कल गरेर प्रशासकीय अधिकृत जितेन्द्र यादव, लेखापाल सावित्री गिरी, नायब सुब्बा मदन चौधरी र सञ्जय मण्डललाई गैरकानुनी रूपमा बर्खास्त गरेको आरोप छ।

उक्त निर्णय उनले उच्च अदालतमा समेत पेस गरेका थिए। तर, निर्देशक पासवानले आफनो हस्ताक्षर नक्कली भएको भन्दै अदालत तथा प्रहरीमा उजुरी दिएपछि उक्त कागजात विधि विज्ञान प्रयोगशालामा परीक्षण गरियो।

जाँचपछि कागजात किर्ते भएको पुष्टि भएको थियो। त्यसयता फरार रहेका साह सोमबार पक्राउमा परेका हुन्। साह नेकपा (एकीकृत समाजवादी)को सिफारिसमा परिषद्का अध्यक्ष बनेका थिए।

तर, केही समयअघि उनी पार्टी परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गरेका थिए। उनी विवादास्पद निर्णय, एकपक्षीय गतिविधि र प्रशासनिक स्वेच्छाचारिता आरोपमा पहिलेबाटै आलोचित थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.