
सुनसरी । सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने युवालाई सुनसरीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोशी गाउँपालिका–३ नहर चोकका २२ वर्षीय साजिल अन्सारी रहेका छन् ।
सुनसरी प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार समाजिक सञ्जाल टिकटकमार्फत धर्म विशेष अफवाह फैलाउने गरी घृणित र अपमानजनक तरिकाले अश्लील शब्द प्रयोग गर्दै समाजमा हिंसा भड्काउन खोजेको पाइएपछि अन्सारीलाई पक्राउ गरिएको हो । अन्सारीले धर्म विशेषलाई लक्षित गरेर हिंसा भड्काउन खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनले हिंसा भड्काउने खालका भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेको प्रहरीले जनाएको छ । अन्सारीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।

























