
काठमाडौं । स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनका नाममा असम्बन्धित व्यक्तिहरूलाई विदेश पठाइएको प्रकरणको विस्तृत अनुसन्धान र छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विशेष समिति गठन गरेको छ ।
मानव बेचबिखनको आशंका गरिएको यस प्रकरणबारे सत्यतथ्य पत्ता लगाउन गठन गरिएको छानबिन समितिको नेतृत्व सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीले गर्नेछन् । समितिमा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरसहित ६ जना अधिकारी छन् ।
ब्यूरो प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङका अनुसार सञ्चारमाध्यममा आएका विवरणहरू र अन्य सूचनालाई ख्याल गर्दै समिति बनाइएको हो । ‘सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी यो समितिलाई दिइएको छ,’ खापुङले भने । गिरोहका रूपमा रकम असुलेर असम्बन्धित व्यक्तिलाई सम्मेलनमा सहभागी बनाएको भन्ने आशंका रहेको त्यसको निष्कर्ष निकाल्न समिति गठन गरिएको उनको भनाइ छ ।
यसअघि गृहमन्त्री रमेश लेखकले सोमबार दिउँसो १ बजे गृहमन्त्रालयमा बैठक बोलाएर अनुसन्धान प्रहरीमार्फत अघि बढाउने निर्णय गर्दै आवश्यक निर्देशन दिएका थिए । बैठकमा प्रहरी महानिरीक्षक (आईजीप) दीपक थापा, सीआईबी प्रमुख खापुङ, अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाललगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।
बैठकमा सहभागी १ वरिष्ठ अधिकारीका अनुसार, स्पेनको सेभिलामा ३० जुनदेखि २ जुलाईसम्म आयोजित संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी गराउने भन्दै रकम असुलेर असम्बन्धित व्यक्तिहरू पठाइएको प्रारम्भिक अनुमान छ । उनीहरू भिजिट भिसाको आडमा स्पेन पुगेका थिए ।
घटनासँग सम्बन्धित प्रारम्भिक तथ्यहरू अनुसार दिल्लीस्थित स्पेन दूतावासबाट भिसा लिनकालागि सम्मेलनमा सहभागिता देखाउने गरी केही व्यक्तिहरूको नाम संयुक्त राष्ट्रसंघको वेबसाइटमार्फत दर्ता गराइएको थियो । त्यसै आधारमा निमन्त्रणापत्र जारी गरिएपछि उनीहरूले भिसा पाएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारी टोलीसहित स्पेनतर्फ गएको विमानमा पनि कतिपय व्यक्ति विचौलियामार्फत मड्रिड पुगेका थिए । घटनाको संवेदनशीलता देखिएपछि भिसा लिएकामध्ये शंकास्पद देखिएका ५५ जना व्यक्तिको नाम एयरलाइन्सलाई अग्रिम रुपमा दिइएको र केहीलाई रोक्न प्रयाससमेत भएको स्रोतको भनाइ छ ।
अधिकारीहरुका अनुसार अनुसन्धानका क्रममा त्यसबेला गएका सबै यात्रु फर्किएको वा नफर्किए भन्ने जानकारी संकलन गरिनेछ । त्यसपछि ती व्यक्तिलाई पठाउने गिरोह कसरी सक्रिय भयो भन्नेबारे अनुसन्धान अघि बढ्नेछ ।
वर्तमान विवरणअनुसार कम्तीमा ७ जना नेपाली नागरिक सम्मेलनमा सहभागी नभइ त्यहीँ बसेको प्रमाण भेटिएको अनलाइन खबरले उल्लेख गरेको छ । घटनालाई मानव तस्करीको सन्देहका रूपमा लिइएको र सम्मेलनको नाममा हुने नियोजित अवैध आप्रवासनको नयाँ स्वरूप हुन सक्ने सरकारी अधिकारीहरु बताउँछन् ।
प्रारम्भिक अनुसन्धान प्रारम्भ भइसकेको र सीआईबीको टोलीले विस्तृत जाँच गर्ने बताइएको छ । सरकारले यस प्रकरणलाई गम्भीर रुपमा लिँदै सन्दिग्ध व्यक्ति, संस्थासँगको सम्बन्ध, रकमको लेनदेन र दस्तावेजहरूको वैधता सबैबारे पूर्ण छानबिन गर्ने संकेत दिएको छ।

























