विराटनगरमा अनलाइन ठगीको नयाँ शैली : खाता रिन्यू, ई–सेवा अपडेट र जागिरको प्रलोभन

मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८२ असार ३१, मंगलबार १६:२३

विराटनगर । आर्थिक कारोबारका लागि अहिले अनलाइन प्रणालीको प्रयोग व्यापक बनेको छ । तर, बैंक तथा डिजिटल वालेट सेवा प्रयोगकर्तामाझ देखिएको असावधानीले ठगीका घटना पनि ह्वात्तै बढेका छन् ।

बैंक तथा डिजिटल वालेट सेवा प्रयोगको विषयलाई सामान्य लिँदा, नबुझ्दा, सावधानी अपनाउन नसक्दा र सहजै विश्वासमा पर्दा सर्वसाधारण ठगहरुको पासोमा पर्न थालेका छन् । कोशी प्रदेशको राजधानी विराटनगरसहित प्रदेशभरि नै ठगहरुले सहजै विश्वासमा पारेर सर्वसाधारणको खातामा भएको रकम फुत्काउने घटना ठूलो समस्याको रूपमा देखा परेको छ ।

Advertisement

मोबाइल बैंकिङ, ई–सेवा केवाईसी अपडेट, खाता रिन्यू (नवीकरण) र जागिरको लोभ देखाउँदै ठगहरूले सर्वसाधारणको खातामा भएको लाखौं रुपैयाँ लगिरहेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ । पछिल्लो तथ्यांक अनुसार मोरङ जिल्लामा मात्रै १ वर्षको अवधिमा अनलाइन ठगीबाट ७ करोड ५८ लाख रुपैयाँभन्दा बढी लुटिएको छ ।

असार २६ गते विराटनगर महानगरपालिका–६ का पोखरेल थरका एक व्यक्तिलाई राष्ट्रिय वाणिज्य बैंकबाट जस्तो गरी फोन आएको थियो । फोन गर्ने व्यक्तिले मोबाइल बैंकिङ रिन्यूका लागि कोड मागे । उनी विश्वस्त भएर ओटीपी अर्थात् ‘वान टाइम पासवर्ड’ दिए ।

त्यसको केही मिनेटमै उनको खाताबाट २ लाख ५० हजार रुपैयाँ गायब भयो । तत्काल बैंक पुगेका उनले ठगिएको थाहा पाए । त्यसपछि जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिए । अहिलेसम्म त्यो रकम फिर्ता पाउन सकेका छैनन् । रकम फिर्ता हुने आशमा प्रहरी कार्यालय धाइरहेका छन् ।

त्यसको केही दिनअघि असार २० गते विराटनगर–८ का चौधरी थरका अर्का व्यक्तिलाई ‘इसेवा’को केवाईसी अपडेटका लागि भन्दै फोन आयो । विश्वास गरेर आफ्नो मोबाइलमा आएको कोड बताइदिए ।

त्यसलगत्तै उनको इसेवा वालेटबाट ४६ हजार रुपैयाँ झिकियो । उनले पनि प्रहरी कार्यालयमा पुगेर आफ्नो गुनासो दर्ता गराए ।

त्यस्तै, असार १९ गते विराटनगर–८ का बस्नेत थरका व्यक्तिलाई ई–सेवाबाट भन्दै ‘एकाउन्ट भेरिफिकेसन’को बहानामा फोन आयो । उनको मोबाइलमा आएको ओटीपी मागियो । केही बेरमै उनको वालेटबाट ३७ हजार ८ सय रुपैयाँ गायब भयो । उनले पनि प्रहरीको ढोका ढकढक्याए ।

यी त प्रतिनिधिमूलक केही घटनाहरू मात्र हुन् । मोरङ प्रहरीले मुलुकी खबरलाई उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्लो १ महिनामा मात्रै यस्ता घटनाबाट ३८ जना व्यक्तिले ठगी व्यहोर्नु परेको छ । ती सबैको खाताबाट ३७ लाख ३६ हजार ३ सय ९० रुपैयाँ निकालिएको छ ।

गत बिहीबार मात्रै मोरङ प्रहरीमा ९ वटा ठगीको उजुरी दर्ता भयो । जसमा २१ लाख १५ हजार रुपैयाँभन्दा बढी रकम ओटीपी मागेर लुटिएको थियो । आर्थिक वर्षको अन्त्यतिर बैंक खाता रिन्यू गर्नुपर्ने समय हो भन्ने बहानामा ठगहरू सक्रिय भएका छन् ।

प्रहरीका अनुसार ठगको निशानामा रहेका अधिकांश पीडितहरू पढेलेखेका, व्यवासायी, कार्यालय सहयोगी, गृहिणी र डिजिटल सेवाको न्यूनतम ज्ञान भएका आम प्रयोगकर्ताहरू छन् । ‘ठगीको शैली निकै योजनाबद्ध र विश्वसनीय देखिन्छ । सर्वसाधारण पनि सहजै विश्वासमा पर्ने गरेको पाइयो,’ प्रहरी स्रोतले भन्यो ।

प्रहरीका अनुसार केवाईसी अपडेट, मोबाइल बैंकिङ पुनः सक्रिय गर्ने, ई–सेवा भेरिफिकेसन वा जागिरको इन्टरभ्यूका लागि फाराम भरेको भनेर फोन गरेर ओटीपी मागिन्छ । प्रयोगकर्ताले थाहा नपाउँदै आफू ठगीको सिकार भइसकेका हुन्छन् ।

डिजिटल अपराधका घटनाहरूको अनुसन्धान प्रहरीले गरिरहेको छ । तर, ठगहरूले सीमा पार भारततर्फ बसेर फोन गर्ने, रकम तेस्रो व्यक्तिका खातामा जम्मा गर्ने र त्यस्ता खाताहरू अरूलाई लोभ देखाएर खोल्न लगाउनेजस्ता रणनीति अपनाउने गरेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालको भनाइ छ ।

प्रहरीको अनुसन्धानमा भेटिएको अर्को गम्भीर पक्ष भनेको कतिपय ठगको समूहले पैसा भएको खाता छानीछानी ह्याक गरेको पाइन्छ । यसले बैंक तथा वित्तीय संस्थाका कर्मचारीकै संलग्नतामाथि पनि प्रश्न उठाएको छ ।

प्रहरी स्रोतका अनुसार पैसा भएको खाता मात्रै ह्याक गरिएको छ । ‘खातामा कति पैसा छ भन्ने सूचना सामान्य ठगलाई थाहा हुने कुरा होइन । त्यसैले बैंकभित्रका कर्मचारीबाट सूचना चुहिएको हुनसक्ने आशंका छ,’ प्रहरी स्रोतले भन्यो ।

तर, डीएसपी चुँडाल सबै घटनामा बैंक कर्मचारी जोडिएको निष्कर्ष निकाल्न मिल्दैन भन्ने धारणा राख्छिन्। ‘गिरोहले रेकी गरेर पनि ठगी गर्ने गरेका छन्,’ उनले भनिन्, ‘यद्यपि, केही पुराना घटनामा बैंकका कर्मचारीको संलग्नता देखिएको थियो ।’

उनका अनुसार अनलाइन ठगी अब नेपालमा मात्र नभइ अन्तर्राष्ट्रिय समस्याका रूपमा फैलिएको छ । ‘धेरैजसो ठगी सीमावर्ती क्षेत्र र विदेशबाट सञ्चालन भइरहेको छ,’ चुँडालले भनिन्, ‘ठगी रकम सीधा मुख्य अभियुक्तको खातामा जाँदैन । विभिन्न व्यक्तिलाई प्रलोभनमा पारेर खाता खोल्न लगाउने र ती खातामार्फत पैसा ‘ट्रान्सफर’ गरिने हुँदा अनुसन्धान जटिल भएको छ ।’

प्रहरीका अनुसार ठगको समूहले सवारी चालक, बेरोजगार युवायुवती, सामान्य नागरिक, विद्यार्थीसम्मलाई सानो कमाइको लोभ देखाएर खाता खोल्न लगाउने र सोही खाता प्रयोग गरी ठगी गरिएको रकम ‘ट्रान्सफर’ गर्ने गरेको पाइन्छ ।

पछिल्लो १ वर्षमा जिल्ला प्रहरी कार्यालय मोरङमा मात्रै ३ सय ३९ वटा अनलाइन ठगीका उजुरीहरु दर्ता भएका छन् । उजुरीका आधारमा ७ हजार ५ सय २० रुपैयाँदेखि ६० लाख रुपैयाँसम्म ठगी गरेको देखिन्छ ।

प्रहरीले हाल अनलाइन ठगी रोकथामका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । सामाजिक सञ्जाल, स्थानीय एफएम तथा सार्वजनिक भेलामार्फत नागरिकहरूलाई सावधानी अपनाउन आह्वान गरिएको र यसलाई अभियानकै रूपमा अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए । उनले ठगीबाट जोगिनलाई मोबाइलमा आएको ओटीपी, भेरिफिकेसन कोड वा बैंक खाताको विवरण कुनै पनि हालतमा अरू कसैलाई दिन नहुने बताए ।

ई–सेवा वा अन्य डिजिटल वालेटले फोनमार्फत कहिल्यै ओटीपी वा पासवर्ड माग्दैन । यस्तो फोन आए तुरुन्त सावधानी अपनाउनुपर्ने चिमरियाको भनाइ छ । सामाजिक सञ्जालमा विज्ञापन देखिएर जागिर, गिफ्ट वा लगानीका अफरमा क्लिक गर्नुअघि कम्पनी वा व्यक्तिको वैधानिकता हेर्नुपर्ने उनी बताउँछन् ।

‘अनलाइन कारोबार गर्दा सधैं आधिकारिक एप र वेबसाइट प्रयोग गर्नुपर्छ । अनलाइन ठगीको बढ्दो लहर रोक्न कानुनी, प्रविधिक र संस्थागत संयन्त्र बलियो बनाउन आवश्यक छ,’ एसपी चिमरिया भन्छन् । तर, त्यसकोभन्दा पहिला नागरिक स्वयंले सजगता र सतर्कता नअपनाएसम्म यस्ता ठगी झन् बढ्दै जाने उनले बताए । ‘डिजिटल प्रयोग बढिरहेको यो समयमा नागरिकको सचेतन नै सबैभन्दा ठूलो सुरक्षाको उपाय हुन्छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया
एमाले महाधिवेशन : पदाधिकारीमा विराटनगरबाट काे–काे छन् उम्मेदवार ?
एमाले महाधिवेशन : विराटनगरबाट ६ जना केन्द्रीय सदस्यकाे उम्मेदवार
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान
पश्चिमी वायुकाे प्रभाव, कस्ताे छ आजकाे माैसम ?
बढेकाे बढ्यै डलरकाे भाउ, यस्ताे छ अन्य मुद्राकाे विनिमयदर
पेट्राेलकाे मूल्य बढ्दा डिजेलकाे घट्याे
सरकारी कार्यालय आगजनीका आरोपी छुट्दा विराटनगरमा फूलमाला र नाराबाजी, पूर्वमन्त्रीको जिम्मामा रिहा
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
महाधिवेशनमा चार नेताले छाडे केपी शर्मा ओलीको साथ, प्रदीप ज्ञवाली पनि रुष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.