
विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमखी क्याम्पस स्ववियु सभापतिको कार्यकक्षमा २ वटा खुकुरी बरामद भएको हो ।
मंगलबार स्ववियु सभापति रोहित यादवको कार्यकक्षमा रहेको स्टीलको दराजभित्र २ वटा घरेलु हतियार (खुकुरी) फेला परेको हो ।
क्याम्पस हाताभित्रै स्ववियुको कार्यालय छ । यादवको कार्यकक्ष बाहिर मिटिङ हल छ ।
क्याम्पसको गेटमा सुरक्षा गार्ड भए पनि कसरी यादवको दराजमा खुकुरी पुग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ । वडा प्रहरी कार्यालय (क)बाट प्रहरी निरीक्ष्क अप्रिल चापागाईंको नेतृत्वमा गएको टोलीले दराजबाट खुकुरी निकालेर ल्याएको छ । बरामद भएको खुकुरी विद्यार्थीले कलेजमा प्रदर्शन गरेका थिए ।
के हो घटना ?
मंगलबार बिहान क्याम्पसमा बीसीए र एमपीएको पहिलो सेमिस्टरको परीक्षा चलिरहेको थियो । अखिल क्रान्तिरकारीका विद्यार्थी केनिस यादव, असलम साफी र गौतम मण्डल जबरजस्ती परीक्षा हलमा प्रवेश गर्ने विषयमा विवाद सिर्जना भएको थियो । नेविसंघबाट स्ववियुको उपसभापति भएका शुलभ बस्नेतसहितको टोलीले क्रान्तिरकारीका विद्यार्थी साफी, यादव र मण्डललाई परीक्षा हलमा प्रवेश रोकेपछि विवादको सुरुवात भएको थियो ।
त्यसपछि दुवै पक्षबीच विवाद हुँदा सामान्य कुटाकुट भएको थियो । त्यसपछि केनिस यादव र असलम साफीले झोलाबाट खुकुरी झिकेपछि एक जना महिला विद्यार्थी उनीहरुलाई रोक्न खोज्दा ती महिला विद्यार्थीको टाउकोमा खुकुरीको बिँडले लागेर सामान्य चोट लागको थियो ।
प्रहरी निरीक्षक चापागाईंले सभापतिको कार्यकक्षमा रहेको दराजबाट २ थान खुकुरी बरामद गरी ल्याएको बताए । ‘अहिले हामीले खुकुरी जफल गरेका छौं ।’ उनले भनेका छन्,‘यो खुकुरी कसरी, कहाँबाट आयो, कसल ल्यायो कि आयो भन्ने विषय थप अनुसन्धान अघि बढाइएको छ ।’
स्ववियु सभापति रोहित यादवले आफूले खुकुरी नल्याएको बताए । ‘ स्ववियुएउटा संस्था हो । यो बिहान ६ बजेदेखि खुला हुन्छ । यहाँको साँचो मसँग पनि हुँदैन । म राख्दीन,’ उनले भने,‘ अफिस चाहिँ कर्मचारीले बिहान नै खोलिदिनु हुन्छ । विद्यार्थीहरु काम कार्य व्यस्तताले म बाहिर नै हुन्छु । म प्रशासन, परीक्षातिर घुमिरहेको हुन्छु । कस ल्यायो थाहा छैन । यदी कसैले पनि प्रमाणित गरिदियो भने स्ववियु सभापतिले ल्याएको भने म आफ्नो पदबाट राजीनामा दिन्छु ।’
उनले आफूलाई कसैले फसाउन सडयन्त्र गरेको दाबी गरे ।‘कसैले मलाई फसाउनका लागि पनि राख्न सक्छ । मलाई फसाउन दुनियाँ लाग्छ ।’ उनले भने,‘रोहित यादव अहिले आगो जस्तो बलिरहेको हुँदा फसाउन चाहनेहरु धेरै हुन्छ ।’
क्याम्पस प्रमुख डा. रामअवतार शरणले क्याम्पसमा कसैले पनि हतियार ल्याउन नहुने बताए । कसरी कसले ल्याएको घटनाबारे अनुसन्धान थालेको बताए ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले महेन्द्र मोरङ क्याम्पसमा केही विद्यार्थीहरुको समूहले हुलहुज्जत गर्न खोजेपछि अर्को समूहका विद्यार्थीहरुले रोक्ने क्रममा दुई पक्षबीच विवाद भएको बताइन् । उनका अनुसार विवाद भएपछि केही विद्यार्थीहरुले खुकुरी झिकेपछि अन्य केही विद्यार्थीले रोक्न थालेपछि दराजमा राखेर अन्य फरार भएको बताइन् । ‘कसले खुकुरी ल्याएको र दराजमा राखेको भन्ने पहिचान खुली सकेको छैन ,’ उनले भनिन्,‘उनीहरुको पहिचान र घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । कुनै पक्ष कसैकाविरुद्ध निवेदन दिन आएका छैनन् । यस विषयमा कलेज प्रशासनले पनि निवेदन दिएको छैन ।’

























