मोरङको जहदाबाट पेस्तोल बरामद, २ जना पक्राउ

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३२, बुधबार ११:५६

विराटनगर । हतियार लुकाएर राखेको आशंकामा मोरङको जहदाबाट बुधबार बिहान २ जना पक्राउ परेका छन् । प्रहरीले पेस्तोल पनि बरामद गरेको छ ।

जहदा गाउँपालिका–४ हटिया टोलबाट बिहान करिब ६ बजेतिर हतियार बरामद भएको हो । दिनेश मण्डलको टाटीबेरा प्रयोग गरी टिनको छानो लगाएर बनाइएको भुस राख्ने छाप्रो घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा पेस्तोल फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।

उनका अनुसार भुस राख्ने घर खानतलासी गर्दा प्लाष्टिकको बेरामा गहुँको भुसभित्र लुकाएर राखिएको ‘मेड इन जापान’ लेखिएको १ थान सिक्सर पेस्तोल बरामद गरिएको छ । पेस्तोलसँगै हातमा लगाउने नक, एउटा खुकुरी र मोबाइल पनि बरामद भएको चुँडालको भनाइ छ ।

बरामद भएको हतियार लुकाएर राखेको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको हो । जहदा–४ का अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डललाई पक्राउ गरिएको जानकारी डीएसपी चुँडालले दिइन् ।

हतियार लुकाएर राख्नेमध्ये जहदा–४ का अन्दाजी २० वर्षीय मुकेशकुमार महतो फरार छन् । उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । पक्राउ परेका हरिकुमारको साथबाट प्रहरीले नम्बर केरमेट गरिएको एउटा होन्डा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरुले उक्त हतियार भारतबाट ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ । हतियार किन र कहिले ल्याएका हुन् भन्ने यकिन छैन ।

पक्राउ परेकाविरुद्ध हातहतियार खरखजाना मुद्दा चलाउन प्रहरीले म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाएको छ । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

हरिकुमार र आशिष यसअघि पनि मोटरसाइकल चोरीमा पक्राउ परेका थिए । अदालतले तोकेको सजाय भुक्तान गरेर १ महिनाअघि मात्रै छुटेको पाइएको प्रहरी स्रोतले बतायो ।

‘मोटरसाइकल चोरीमा संलग्न रहेको पाइएपछि यसअघि चोरी मुद्दा चलाइएको थियो । सजाय भुक्तान गरेर १ महिनअघि मात्रै छुटेका हुन् । त्यसपछि हतियार कारोबारमा संलग्न भएको पाइयो । यस विषयमा थप अनुसन्धान भइरहेको छ,’ स्रोतले भन्यो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.