मोरङमा हत्या गरेर फरार भएका दोर्जे ६ वर्षपछि ललितपुरबाट पक्राउ

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३२, बुधबार १४:३९
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । मोरङमा १ जना व्यक्तिको हत्या गरेर फरार भएका अभियुक्तलाई प्रहरीले ६ वर्षपछि ललितपुरबाट पक्राउ गरेको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का २७ वर्षीय दोर्जे भनिने मेन दोर्जे तामाङ पक्राउ परेका हुन् । उनलाई प्रहरीले ललितपुर महानगरपालिका–२२ बुङ्गमतीबाट मंगलबार पक्राउ गरेको हो ।

ललितपुर प्रहरीले पक्राउ गरेर उनलाई बुधबार मोरङ पठाएको छ । प्रहरीको टोलीले मोरङ ल्याउने वित्तिकै उनलाई जिल्ला अदालतमा उपस्थित गराएको छ । तामाङविरुद्ध प्रहरीले २०७७ सालमा कर्तव्य ज्यान मुद्दा चलाएको थियो ।

उनी फरार रहेका कारण मुद्दा भने मुलतबीमा राखिएको थियो । प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले मुतलबी जगाएर थप प्रक्रिया अघि बढाएको छ । २०७६ साल चैत ९ गते मोरङको पथरीशनिश्चरेका दीपक लिम्बूको हत्या भएको थियो ।

लिम्बूको हत्यापछि भागिरहेका तामाङ ६ वर्षपछि पक्राउ परेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए । विशेष सुराकीका आधारमा ललितपुरस्थित दिदी अनु तामाङको घरमा लुकिछिपी बसिरहेको अवस्थामा तामाङलाई प्रहरी प्रभाग भैँसेपाटीबाट खटिएको इन्स्पेक्टर शशिधर शर्मा नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार व्यक्तिको हत्या गरेर फरार भएपछि तामाङले ठेगाना बदलेर बस्ने गरेको पाइएको छ । मानबहादुर लिम्बूको जाहेरीका आधारमा विक्रम संवत २०७७ वैशाख ३ गते तामाङविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.