अराजक समूहको निसानामा ‘नेपालीरिका’ होटल, ढल्यो उद्योगी भोलेश्वर दुलालको सपना

मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८२ आश्विन १, बुधबार १७:३५
आगजनीपछि जल्दै गरेको नेपालीरिका होटल ।

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाको विराटचोकस्थित थ्री–स्टार होटल ‘नेपालीरिका’ भदौ २४ गते जेनजी आन्दोलनको नाममा भएको आगजनी, तोडफोड र लुटपाटको सिकार बन्यो ।

अराजक समूहको निसानामा पर्दा होटल ध्वस्त हुन पुग्यो । अराजक क्रियाकलापको केन्द्र बन्दा होटल त सकियो नै, होटलका सञ्चालकसमेत रहेका उद्योगी भोलेश्वर दुलाल (भोला)को सपना पनि ढल्यो ।

Advertisement

भोलेश्वरले ३२ वर्षको अथक मिहिनेत, पसिना र परिश्रमले ठड्याएको उक्त होटलमा भएको आगजनी र लुटपाटले उनलाई मात्रै नभएर स्थानीय अर्थतन्त्र, रोजगारी र समुदायको आत्मविश्वासलाई गहिरो चोट पुर्याएको छ । घटनामा होटलका सिसा, पर्खाल र ढोकाहरू तोडफोड गरिए । रिसेप्सन, सेमिनार हल र भौतिक संरचनामा व्यापक क्षति पुग्यो ।

भोलेश्वरका अनुसार १ सय ८६ वटा कोठामध्ये ६० वटा पूर्ण रूपमा ध्वस्त भए । होटलमा आगजनी गरिँदा ३५ करोड बढीको क्षति भएको उनी बताउँछन् । काठमाडौंबाट नेताहरू आएर बसेको हल्ला फैलिनसाथ अराजक समूह होटलमा प्रवेश गरेको थियो ।

पाहुनाहरू होटलभित्रै रहेका बेला भागदौड, तोडफोड र लुटपाट सुरु भयो । त्यसपछि आगो लगाइयो । घटनापछि होटलमा कार्यरत करिब १ सय ६ जनाको रोजगारी गुमेको छ ।

आगोले ध्वस्त भएको नेपालीरिका होटल ।

भोलेश्वर विगत केही दशकदेखि सुन्दरहरैँचा क्षेत्र र आसपासका इलाकामा लगानी गर्दै आएका परिचित उद्यमी हुन् । उनले विराटचोक र दमकमा ‘नेपालीरिका’ नामका २ होटल सञ्चालन गर्दै आएका थिए । सन् २०२७ सम्म श्रीअनन्तु, नाम्जे तथा कोशी टप्पु क्षेत्रमा थप ३ वटा होटल खोल्ने उनको योजना थियो ।

विभिन्न स्थानमा गरेर ५ वटा होटल सञ्चालन गर्ने योजना अघि बढिरहँदा मूल होटल नै अराजक समूहले ध्वस्त पारिदियो । जसका कारण होटलको विस्तार योजना तत्काललाई ठप्प बनेको छ । विदेशमा सेमिनारमा सहभागी रहेकाले घटनाका बारेमा उनले उतै सुनेका थिए । थाइल्याण्डको बैंककमा रहँदा घटना सुनेपछि उनलाई सम्हालिन गाह्रो भयो ।

यस विनाशले भौतिक संरचना नष्ट भयो नै । एउट उद्यमी परिवारको जीवन्त इतिहास, कर्मचारी र समुदायलाई चोट पुर्याएको छ । भोलेश्वरले विगतमा माओवादी द्वन्द्व, विनाशकारी भूकम्प, कोरोना महामारी र आर्थिक मन्दीजस्ता चुनौतीहरूलाई सामना गर्दै व्यवसाय जोगाउँदै आएका थिए ।

उनले भने, ‘राम्रा दिन आउला भन्ने आशामा हाम्रा दिन बिते । यसरी सपना जल्ने आशा थिएन । तर, म हतास छैन । राज्यले कसरी सम्बोधन गर्छ भन्ने हेर्न बाँकी छ । तर, जसरी पनि म उठ्छु ।’ यो पीडा र प्रतिज्ञा भोलेश्वरका छोरा आकाश दुलालले पनि व्यक्तिगत भावनामा सिलसिलेवार व्यक्त गरेका छन् ।

व्यावसायिक कामका लागि अमेरिकाको न्युयोर्क सीटीमा रहेका बेला आकाशले उक्त भावना व्यक्त गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भावनामा बुवाका संघर्ष र होटलप्रतिको लगाव समेटेका छन् ।

आकाशले लेखेका छन्, ‘बुवाले ६ महिनामै आफ्नो बुवालाई गुमाएर आमाको भरपोषणमा हुर्किनु भएको र त्यसै संघर्षको नतिजा स्वरूप ३२ वर्षको अथक परिश्रमले नेपालीरिका निर्माण भएको थियो ।’ ‘हामीले सधैं विदेशमा गएर व्यापार गरौं भन्ने सुझाउन खोज्थ्यौं । तर, बुवाले सदैव भन्नुहुन्थ्यो ‘जे गर्ने हो यही देशमा, यही ठाउँमा गर्ने हो ।’ उहाँले यो हक र जिम्मेवारी मलाई (जेनजी)को युवा पुस्तालाई हस्तान्तरण गर्नु भयो,’ आकाश थप्छन् ।

नेपालीरिका इँटा, माटो र ढुंगा बनेको घर मात्रै नभएर सुन्दरहरैँचाको विकासक्रम र आत्मगौरव रहेको उनको भनाइ छ । ‘अहिले ति संरचनाका सामान मात्रै जलेनन् । एउटा उद्योगीको विश्वास, व्यवसायीको निष्ठा, समाजको आशा र हामी जेनजीको सपनासमेत खरानी भियो,’ आकाशले भावुक शब्दमा लेखेका छन् ।

आगजनी हुनुअघिको नेपालीरिका होटल ।

आकाशले घटनामा संलग्न अराजक समूह र त्यसका प्रोत्साहकहरू प्रति प्रश्नहरू उठाउँदै भनेका छन्, ‘हजुरबुवा, किन मौन बस्नुभयो ? हजुरआमा, किन कराउनु भएन ? बुवा, किन आगो लगाउनु भयो ? आमा, किन सरसामान चोरी गरियो ? दाइ–दिदी, किन सिसा फुटाइयो र पर्खाल भाँचियो ? भनेर होटलमा आक्रमण गर्नेमाथि अबको पुस्ताले प्रश्न गर्ने छ ।’ आकाशले अहिलेसम्म सहजै निदाउन नसकेको, घाउ ताजा रहेको र भविष्यमा ती प्रश्नहरूको जवाफ मागिने बताए ।

घटनाप्रति स्थानीय, कर्मचारीका परिवार र साना व्यापारीहरू चिन्तित छन् । होटलले रोजगारीको सिर्जना गर्नुका साथै स्थानीय अर्थतन्त्र र पर्यटन प्रवर्धनमा ठूलो योगदान गरेको थियो ।

यसको असर लामो समयसम्म महसुस हुने आकाश बताउँछन् । आगजनी, तोडफोड र लुटपाटपछिको क्षतिले दिएको पीडाका बीच उठ्ने आशा र प्रतिज्ञा पनि उनको त्यत्तिकै बलियो छ । घटनाबाट हार नमान्ने बताउँदै आकाशले लेखेका छन्, ‘नेपालीरिका होटलको प्रत्येक कोठाको खरानी शिरमा बोकेर फेरि उठ्नेछु । फेरि यसलाई पुनर्निर्माण गर्नेछु । फेरि सञ्चालन गर्नेछु । पीएलओ ग्रुप फेरि उठ्नेछ । हिमालझैं अडिग भएर ।’

नेपालीरिका जलेको खरानीमाथि बसेर नयाँ योजना बनाउने, रोजगारी फर्काउने र सुन्दरहरैँचाको पहिचानलाई जीवितै राख्ने आवाज उठिसकेको छ । भोलेश्वर दुलाल र उनका छोरा आकाशले व्यक्त गरेको दुःख, प्रश्न र अठोटले भने यति धेरै क्षति हुँदा पनि आत्मबल गुमेको छैन भन्ने सन्देश दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.