जुवा र झगडाले लेटाङ महोत्सव बन्द, इन्स्पेक्टरमाथि छानबिन

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ आश्विन २६, आइतबार १९:००

विराटनगर । ठूलो रकमको हारमार भइरहेको जुवाजन्य खेल र झगडाका कारण चौतर्फी विरोध हुन थालेपछि मोरङको लेटाङमा २ साता अघिदेखि सञ्चालित लेटाङ महोत्सव बन्द गरिएको छ ।

उज्यालो जीवन प्रतिष्ठान नेपाल नामक संस्थाको नाममा जिल्ला प्रशासन कार्यालय मोरङबाट महोत्सवको अनुमति लिएर मेला लगाउँदै दैनिक लाखौं रूपैयाँ हारमार हुने जुवाजन्य खेल सञ्चालन भइरहेको थियो । उक्त विवादित मेला लेटाङ नगरपालिका–६ प्याप्सुल चौरमा असोज १० गतेदेखि जारी थियो ।

Advertisement

प्रशासनले पहिलो चरणमा असोज १० देखि २४ गतेसम्म महोत्सव सञ्चालनको अनुमति दिएको थियो । पुनः असोज २५ गतेदेखि ३१ गतेसम्म म्याद थप गरिएको थियो । तर, मेलामा खेलाइने लक्की सिक्स, लक्की सेभेन, घिर्नी, हाउजीलगायतका जुवाजन्य खेलका कारण झैझगडा हुन थालेपछि प्रशासनले मेला बन्द गराएको हो ।

सामाजिक विकृति र द्वन्द्व बढेको भन्दै स्थानीयले मेला बन्द गर्न पटक–पटक आग्रह गरेका थिए । प्रशासनले मेला सञ्चालनको स्वीकृति दिँदा प्रत्येक दिन राति १० बजेभित्रमा बन्द गर्नुपर्ने, कार्यक्रमस्थलको ५ सय मिटर वरपर मदिराजन्य पदार्थ निषेध हुनुपर्ने, मादक पदार्थ सेवन (मापसे) गरेर कार्यक्रमस्थलमा प्रवेश गर्न नपाउने, ध्वनी प्रदूषण गर्न नपाइने तथा तास, जुवालगायत पैसाको हारमार हुने जुवाजन्य खेल खेलाउन नपाइनेलगायतका सर्त राखेको थियो ।

तर, महोत्सवका नाममा सबैजसो सर्त उल्लंघन गरिएको थियो । महोत्सव स्थलभित्र दैनिक लाखौं रूपैयाँको हारमार हुने गरी खुलेआम जुवाजन्य खेल खेलाउने गरिएको स्थानीय बताउँछन् । प्रचलित कानुनको बर्खिलाप गरेमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी पनि प्रशासनले दिएको थियो । खुलेआम जुवाजन्य खेल र मदिराको व्यापार हुँदा पनि महोत्सव आयोजकलाई भने कुनै कारबाही भएन ।

आयोजकले प्रहरी प्रशासनदेखि सबै पक्षसँग ‘सेटिङ’ मिलाएर जुवाजन्य खेल खेलाउने गरेको आरोप लागेको थियो । प्रत्येक दिन साँझ ६ बजेपछि राति १–२ बजेसम्म जुवाजन्य खेलदेखि कानुनले प्रतिबन्ध गरेका गतिविधि हुने गरेको स्थानीयको भनाइ छ । मेलामा झगडासमेत भएको थियो ।

मेलाको झगडाले चोटपटक लागेको उजुरी इलाका प्रहरी कार्यालय लेटाङमा छलफलकै अवस्थामा रहेको र महोत्सवको म्याद थप गरेमा सामाजिक विकृति एवं द्वन्द्वको अवस्था उत्पन्न हुने भन्दै नगरपालिकाले मेला बन्द गर्न जिल्ला प्रशासनलाई पत्राचार गरेको थियो । नगरपालिकाको सिफारिसका आधारमा शुक्रबारदेखि मेला बन्द गराइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले बताए ।

‘देशैभरि असुरक्षा एवं भयको अवस्थामा नगरबासीबाट पटक–पटक मेला महोत्सव बन्द गर्न अनुरोध भएको तथा मेला राति अबेरसम्म सञ्चालन हुँदा परिस्थिति नियन्त्रण बाहिर पुगेर अवस्था थप चुनौतीपूर्ण हुने भएकाले लेटाङ महोत्सवको म्याद थपको निर्णय तत्काल फिर्ता लिनु हुन अनुरोध छ,’ नगरपालिकाले प्रशासनलाई लेखेको पत्रमा उल्लेख छ । सहायक प्रजिअ कोइरालाले शान्ति सुव्यवस्था कायम राख्नका लागि लेटाङ महोत्सव तत्काललाई बन्द गर्न निर्देशन दिइएको बताए ।

उज्यालो जीवन प्रतिष्ठानले प्रशासनबाट अनुमति लिएर मेला सञ्चालनका लागि ठेक्का लगाएको थियो । मेला संयोजक हंशराज लिम्बूले भने महोत्वसमा कुनै लफडा र जुवाजन्य खेलहरु नभएको दाबी गरे । ‘यहाँको मेलामा केही घटना भएजस्तो लाग्दैन । जुवाजन्य खेलहरु भएका थिएनन् । वर्षाले १ दिन मेला प्रभावित भयो । त्यही भएर हामीले म्याद थपका लागि अनुमति मागेका थियौं । तर, प्रशासनले स्वीकृति दिएन । मेला बन्द गर्नु भनेको छ,’ लिम्बूले भने ।

इन्स्पेक्टरमाथि छानबिन हुँदै

विवादित मेलाको विषयलाई लिएर इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख एवं इन्स्पेक्टर (प्रहरी निरीक्षक) राकेश रेग्मीमाथि छानबिन भइरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले छानबिन गरिरहेको हो । ठेकेदारसँग रकम लिएर मेलामा जुवा खेलाउन र खेल्न छुट दिएको आरोप रेग्मीमाथि लागेको छ ।

स्थानीयका अनुसार मेलामा दैनिक घण्टौंसम्म जुवाजन्य खेल हुँदा पनि त्यहाँको सुरक्षाका लागि खटिने प्रहरीले कुनै हस्तक्षेप गर्दैन थिए । ‘जुवाजन्य खेलमा लाखौं रूपैयाँको हारमार हुन्थ्यो । तर, प्रहरीले कुनै हस्तक्षेप गरेन । उल्टै जुवाको खाललाई सुरक्षा दिन्थ्यो,’ १ स्थानीय भन्छन्, ‘जुवा खेलाउन हुँदैन भनेर आवाज उठाउँदा ठेकेदारले थर्काउने र धम्क्याउने गर्थे । प्रहरी प्रशासन सबैलाई मिलाइएको छ, तिमीहरुलाई के को टाउको दुखाइ भन्थे ? महोत्सवका नाममा अवाञ्छित गतिविधि हुँदा स्थानीय आजित भएका थियौं ।’

मेलामा ठूलो रकमको हारजित हुने गरेको सूचना मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाललाई पनि आएको थियो । त्यसपछि उनले इन्स्पेक्टर रेग्मीलाई जुवाजन्य खेल खेल्न र खेलाउन नदिन तथा मेलाको शान्ति सुरक्षा मजवुत बनाउन निर्देशन दिए । तर, जुवा रोकिएन ।

स्थानीयले बारम्बार गुनासो गरेपछि एसपी कटवाल आफैं ‘छड्के अनुगमन’मा पुगेका थिए । उनी पुग्दा महोत्सव स्थलभित्र जुवाजन्य खेलहरुको अलगअलग खाल सञ्चालनमा थियो । ठूलो रकम हानमार भइरहेको थियो । जुवाजन्य खेलका प्रत्यक्षदर्शी एसपी कटवालको निर्देशनमा इन्स्पेक्टर रेग्मीमाथि छानबिन सुरु भएको हो ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले इन्स्पेक्टर रेग्मीलाई स्पष्टीकरण सोधिएको बताइन् । उनीमाथि २ पटक स्पष्टीकरण सोधिसकिएको छ । ‘स्पष्टीकरण सोधेर छानबिन अघि बढाइएको छ । त्यसको जवाफ आइसकेपछि कारबाहीको थप प्रक्रिया अघि बढ्छ,’ चुँडालले भनिन् ।

इन्स्पेक्टर रेग्मीले भने प्रहरीले पैसा लिएर जुवाजन्य खेल खेलाउन दिएको आरोप झुटो भएको बताए । ‘कुन बेला खेलाउँछन् भन्ने थाहा भएन । हामी पुगेका बेला त्यस्तो देखिएन । अन्त पनि ड्युटी गर्नुपर्ने भएकाले २४ घण्टा नै मेलाको निगरानी गर्न सकिएन,’ उनी भन्छन् ।

तर, प्रत्येक दिन मेला सुरु भएदेखि नै महोत्सव स्थलमा प्रहरीले सुरक्षा दिन्थ्यो । त्यति मात्रै हैन, सशस्त्र प्रहरीले समेत जुवाजन्य खेल सञ्चालनमा सहयोग गरेको थियो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार ठूलो संख्यामा पुग्ने सशस्त्रले प्रत्येक दिन जुवाजन्य खेल खेलाउने ठाउँलाई आफ्नो सुरक्षा घेराभित्र राख्ने गरेका थिए ।

जुवाजन्य खेल नियन्त्रणमा लिनुपर्ने नेपाल र सशस्त्र प्रहरीकै संयुक्त सहयोगमा महोत्सव स्थलभित्र लाखौंको हारमार हुने गरेको स्थानीयको भनाइ छ । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजेश घिमिरेले मेलामा सुरक्षाकर्मीले नै जुवाजन्य खेल खेलाउन सहयोग गरेको गुनासो आएको स्वीकार गरे । ‘अवैध काममा सुरक्षाकर्मीले साथ दिएको गुनासो आएपछि सशस्त्रलाई महोत्सव स्थलभित्र छिर्न दिएनौं । आवश्यक परेका बेला थप मद्धतका लागि पठाउने गरी बाहिरै राख्यौं,’ उनले भने ।

तपाइको प्रतिक्रिया
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
वर्षा प्रभावित किसानलाई सहयाेग गर्न प्रदेश सरकारसँग हारगुहार
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका एक फरार प्रतिवादी पक्राउ
कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण
जापानको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प
जेनजी आन्दोलन खोसाखोस माइतीघरबाटै सुरु भयोः ओली
‘स्वर्णबिन्दु प्राशन’ का अभियान : विराटनगरमा स्वयंसेविकालाई तालिम
चौपायालाई खोरेतमुक्त बनाउने अभियान कोशी प्रदेशभरि विस्तार गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.