
विराटनगर । विराटनगर महानगरपालिकाका ३ सय बढी बालबालिकालाई ‘स्वर्णविन्दु प्रशान’ थोपा खुवाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङले पहिलो पटक विराटनगर महानगरपालिकाका बालबालिकालाई ‘स्वर्णविन्दु’ को थोपा खुवाइएको हो ।
आयुर्वेद केन्द्रमा मंगलबार महानगरपालिकाका ३ सय ५० जना बालबालिकाले ‘स्वर्णविन्दु’को थोपा खाएको वरिष्ठ कविराज निरीक्षक तथा सूचना अधिकारी बैजनाथ साहले जानकारी दिए ।
मोरङमै पहिलो पटक महानगरपालिकाका बालबालिकालाई ‘स्वर्णविन्दु’ थोपा खुवाइएको हो । अर्को पटक मंसिर २२ गते खुवाउने उनले बताए ।
पछिल्लो समय बालबालिकामा अटिजम लगायत विभिन्न शारीरिक र मानसिक समस्याहरू बढ्दै गएपछि त्यसलाई सम्बोधन गर्न महानगरपालिकामा आयुर्वेदिक उपचार पद्धति सुरु गरिने भएको छ ।
‘स्वर्णविन्दु प्राशन’ नामक थोपा खुवाउने अभियानअन्तर्गत महानगरपालिका क्षेत्रका १ वर्षदेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरिएको छ ।
‘स्वर्णविन्दु प्राशन’ भनेको सुनको भस्म, औषधि, घिउ र महको मिश्रणबाट तयार पारिएको थोपा हो । यो थोपा प्रत्येक महिनाको पुष्प नक्षत्रको दिनमा मात्रै बालबालिकालाई खुवाइने गरिएको सूचना अधिकारी साहले बताए ।
चिकित्सकका अनुसार खाली पेटमा (अर्खात् खाना खाएको करिब ३–४ घण्टापछि) औषधिले अझ बढी काम गर्छ । स्वर्णविन्दु खुवाएपछि आधा घण्टासम्म बालबालिकालाई केही पनि खान दिनु हुँदैन ।
रुघा खोकी वा झाडापखाला लागेका बालबालिकालाई भने यो थोपा नखुवाउन र कुनै दुष्प्रभाव देखिएमा तुरुन्त चिकित्सकसँग सल्लाह लिनुपर्ने आयुर्वेद स्वास्थ्य केन्द्र जनाएको छ ।

























