औषधि ऐन संशोधनको विरोध: व्यवसायीहरूद्वारा विभागमा धर्ना

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १४, आइतबार १३:५४

काठमाडौँ। औषधि व्यवसायीहरूले औषधि ऐन, २०३५ को दफा ११ को उपदफा ५ खारेज गर्न माग गर्दै आज (आइतबार) बिहान औषधि व्यवस्था विभागमा धर्ना दिएका छन्। प्रदर्शनमा उत्रिएका व्यवसायीहरूले हातमा कालोपट्टि बाँधेर उक्त उपदफाको विरोध गरेका छन्।  नेपाल औषधि सङ्घ, काठमाडौँ जिल्ला शाखाका महासचिव शोभमान श्रेष्ठले उक्त दफाको उपदफा ५ तत्काल खारेज गर्न माग गर्दै यो संशोधनले औषधि व्यवसायीहरूलाई पलायन गर्न खोजेको आरोप लगाए।

श्रेष्ठले सरकारलाई मंसिर १७ गतेसम्मको अल्टिमेटम दिँदै यदि आफ्ना मागहरू पूरा नभए कठोर निर्णय लिएर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। उनले सेवाग्राहीको स्वास्थ्यलाई ख्याल गरेर अहिलेसम्म औषधि पसलहरू पूर्णरूपमा खोलिरहेको बताए।

आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म १ घण्टा पसल बन्द गरी सांकेतिक विरोध गरिएको थियो। श्रेष्ठका अनुसार, यदि आज पनि मागहरू पूरा भएनन् भने सोमबार २ घण्टा, पर्सि ३ घण्टा गर्दै क्रमशः १६ गतेसम्म एक-एक घण्टा बढाएर पसल बन्द गर्ने चेतावनी दिइएको छ। १६ गतेसम्म पनि माग सम्बोधन नभए मंसिर १७ गतेदेखि योभन्दा कठोर निर्णय लिएर आन्दोलनमा उत्रिने उनले बताए।

महासचिव श्रेष्ठले नेपाल पशुपंक्षी औषधि व्यवसायी सङ्घ, नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घ, नेपाल औषधि व्यवसायी सङ्घ, र नेपाल औषधि आयातकर्ता सङ्घहरू मिलेर सङ्घर्ष समिति बनाएको जानकारी दिए। उनले तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेल रहँदा नै यो क्रूर किसिमको नियमबारे ‘प्रोस्टेट’ गराइएको र मन्त्रीले एक हप्ताभित्र सम्बोधन गर्ने आश्वासन दिएको भए पनि हालसम्म कार्यान्वयन नभएको गुनासो गरे। स्वास्थ्यमन्त्रीलाई पठाइएको ध्यानाकर्षण पत्रसमेत ९ गतेसम्म पाउनुभएको थिएन भन्दै श्रेष्ठले सरकारको ध्यानाकर्षण गराएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.