मोरङको धनपालथानमा छोरी दिन अस्वीकार गर्दा लागुऔषधमा फसाउने षडयन्त्र

Share this
694shares
मुलुकी खबर
किशाेर बुढाथाेकी
clock२०८२ पुष २, बुधबार १९:३७

विराटनगर । मोरङको धनपालथानमा छोरी नदिएको निहुँमा एक व्यक्तिले ज्वाइँ-ससुरालाई नै लागुऔषध मुद्दामा फसाउने षडयन्त्र गरेको घटना सार्वजनिक भएको छ ।

धनपालथान गाउँपालिका–७ का २७ वर्षीय विशालकुमार सिंह एउटी युवतीलाई मन पराउँथे । युवतीको घरमा हात माग्न पनि पुगेका थिए । तर, युवती र उनको परिवारले विशाललाई अस्वीकार गरे ।

मंसिरमा युवतीको विवाह अर्कै युवकसँग भयो । आफूले मन पराएको केटी अर्कैको भएपछि विशालको युवतीको परिवारलाई फसाउने योजना बनाए । फसाउन विभिन्न षडयन्त्र रचे ।

फिल्मी शैलीजस्तो देखिने योजना अनुसार विशालले सुरुमा युवतीका बुवालाई फसाउन खोजे । त्यसपछि श्रीमानलाई निशाना बनाए । दुवैलाई लागुऔषध मुद्दामा फसाएर जेल पठाउने र युवतीलाई आफ्नो बनाउने विशालको मनसाय देखिएको प्रहरी स्रोतले बतायो ।

मंसिर २७ गते धनपालथान–४ कर्सिया बजारमा प्रदेश–१–०४–००२ प ६४७१० नम्बरको मोटरसाइकलको इन्डिकेटरभित्र लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) लुकाइएर राखिएको सूचना प्रहरीमा पुग्यो । प्रहरी पुग्दा मोटरसाइकल चालक २९ वर्षीय राजीव चौधरी खाजा खाँदै थिए ।

प्रहरीले खानतलासी गर्दा १३.३१० ग्राम लागुऔषध ब्राउन सुगर भेटियो । तर, राजीवको हाउभाउ र आत्मविश्वास देखेपछि प्रहरी अलमलमा पर्यो । उनी निर्दोष जस्तै देखिन्थे ।

पुरानो फाइल पल्टाउँदा खुलेको रहस्य

प्रहरीलाई शंका लाग्यो । ठीक यस्तै घटना २०८२ वैशाख २० गते पनि भएको थियो । त्यसबेला चन्द्रशेखर मण्डलको मोटरसाइकलमा लागुऔषध भेटिएको थियो । तर, ल्याब रिपोर्ट नेगेटिभ आएपछि उनी छुटेका थिए ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार प्रहरीले दुवै घटनालाई जोडेर हेर्दा रोचक तथ्य खुल्यो । पहिले पक्राउ परेका चन्द्रशेखर र अहिले पक्राउ परेका राजीव नाताले ससुरा–ज्वाइँ रहेछन् । अझ अचम्मको कुरा त के थियो भने दुवै घटनामा प्रहरीलाई सुराकी दिने व्यक्ति एउटै थिए ।

प्रहरीले सुराकी दिने विराटनगर महानगरपालिका–९ का २७ वर्षीय राजा धोवीलाई नियन्त्रणमा लियो । धोवी पक्राउ परेपछि रहस्यको पोको खुल्यो । उनले विशालकुमार सिंहको योजनामा १० हजार रुपैयाँको लोभमा ससुरा–ज्वाइँको मोटरसाइकलमा लागुऔषध राखेको स्वीकारेको एसपी कटवालले बताए ।

धोवीको बयानपछि प्रहरीले विशालका सहयोगीहरू रोशन मण्डल र पारस मण्डललाई पक्राउ गर्यो । अन्त्यमा मुख्य योजनाकार विशालकुमार सिंह पनि प्रहरीको फन्दामा परेका छन् । पक्राउ परेपछि विशालले घटना स्वीकारेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हाल इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा रहेका चारै जना पेसेवर चोर र पटके अपराधी हुन् । वाइरिङको काम गर्ने आवरणमा उनीहरू अपराधमा सक्रिय रहने गरेको प्रहरीले जनाएको छ ।

‘प्रहरीको सूक्ष्म अनुसन्धान र सतर्कताले गर्दा निर्दोष व्यक्तिहरू फस्नबाट जोगिए,’ एसपी कटवालले भने, ‘फसाउने योजना बुन्ने गिरोह नै अहिले हिरासतमा छन् । थप अनुसन्धान भइरहेको छ ।’ घटनाको इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले विस्तृत अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×