विश्व क्यान्सर दिवस मनाइँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २१, बुधबार ०८:४६

काठमाडौं । हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन विश्वभर मनाइने ‘विश्व क्यान्सर दिवस’ आज (बुधबार) नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष यो दिवस ‘उपचारको पहुँचमा रहेको खाडललाई कम गरौँ’ भन्ने मूल नाराका साथ मनाइँदैछ ।

क्यान्सर रोगका बारेमा जनचेतना जगाउन, यसको रोकथाम गर्न र चाँडो रोग पत्ता लगाएर उपचार गराउन प्रोत्साहन गर्ने उद्देश्यले सन् २००० देखि यो दिवस मनाउन थालिएको हो ।

Advertisement

नेपालको अवस्था र चुनौती

नेपालमा पनि पछिल्लो समय क्यान्सर रोगीहरूको संख्या बढ्दै गएको तथ्यांकले देखाउँछ । नेपालमा खासगरी पुरुषहरूमा फोक्सो र मुखको क्यान्सर तथा महिलाहरूमा पाठेघरको मुख र स्तन क्यान्सर बढी देखिने गरेको चिकित्सकहरू बताउँछन् । ढिलो गरी अस्पताल पुग्ने र रोग अन्तिम अवस्थामा मात्र पत्ता लाग्ने प्रवृत्तिले गर्दा उपचार चुनौतीपूर्ण बन्ने गरेको छ ।

क्यान्सरका मुख्य कारणहरूः
१, सुर्तीजन्य पदार्थ र मदिराको अत्यधिक सेवन ।
२, अस्वस्थ खानपान (धेरै चिल्लो, पिरो, र रासायनिक रंग मिसाइएका खानेकुरा) ।
३, शारीरिक व्यायामको कमी र मोटोपना ।
४, वातावरणीय प्रदूषण र कीटनाशक औषधि प्रयोग गरिएका तरकारी तथा फलफूल ।
५, केही अवस्थामा वंशाणुगत कारणहरू ।

बच्ने उपायहरुः

१, करिब एकतिहाइ क्यान्सरलाई खानपान र जीवनशैलीमा सुधार गरेर रोकथाम गर्न सकिन्छ ।
२, धुम्रपान र मदिरापान पूर्ण रूपमा त्याग्ने ।
३, नियमित व्यायाम गर्ने र शरीरको तौल सन्तुलनमा राख्ने ।
४, हरियो सागपात र फलफूलको मात्रा बढाउने ।
५, समयसमयमा स्वास्थ्य परीक्षण गराउने ।

सरकारी पहलः
नेपाल सरकारले क्यान्सर रोगीहरूको उपचारका लागि विपन्न नागरिक औषधि उपचार कोषमार्फत सहुलियत प्रदान गर्दै आएको छ । साथै, विभिन्न सरकारी अस्पतालहरूमा क्यान्सरको विशिष्ट उपचार सेवा विस्तार गर्ने प्रयास भइरहेको छ ।

विभिन्न अस्पताल, स्वास्थ्य संस्था र गैरसरकारी संस्थाहरूले पदयात्रा, गोष्ठी र निःशुल्क स्वास्थ्य परीक्षण शिविरहरू आयोजना गरेर विश्व क्यान्सर दिवस मनाइरहेका छन् । क्यान्सर प्राणघातक भए पनि समयमै पहिचान हुन सकेमा यसलाई जित्न सकिन्छ भन्ने सन्देश फैलाउनु नै यस दिवसको मुख्य लक्ष्य हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.