
विराटनगर । नेपालले विश्वकप क्रिकेटमा १२ वर्षपछि पहिलो जित दर्ता गरेकाे छ । दीपेन्द्रसिंह ऐरीको आक्रमक अर्धशतकमा नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा स्कटल्याण्डलाई ७ विकेटले पराजित गरेकाे हाे ।
याे नेपालकाे सन् २०१४ पछि टी– २० विश्वकपमा पहिलो जित हो । सन् २०१४ मा बंगलादेशमा विश्वकपमा डेब्यु गर्दा हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियाे । नेपालले त्यसयता ६ खेलमा हार व्यहोरेको थियो ।
मुम्बईको वानखेडे मैदानमा स्कटल्याण्डलाई हराउँदै यस विश्वकपमा सान्त्वना जित निकालेको हाे ।
सुपर एट पुग्ने लक्ष्य राखेको नेपालले इंग्ल्यान्ड, इटली र वेस्ट इन्डिजसँगको खेल गुमाएपछि समूह चरणबाटै बाहिरिसकेको थियो । तर प्रतिष्ठाको लागि भएको अन्तिम खेलमा नेपालले जितसहित सुखद रुपमा अन्त्य गरेको हो ।
स्कटल्याण्डले दिएको १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्याे । नेपालको जितमा दीपेन्द्रले अर्धशतक प्रहार गरे । कुशल भुर्तेलले ४३ र आसिफ शेखले ३३ रन योगदान गरेका थिए ।
नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पावर प्लेमै ५६ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफले ९.१ ओभरमा ७४ रनको साझेदारी गरे ।
९८-३ को अवस्थाबाट उपकप्तान दीपेन्द्र सिंह ऐरी र पाँचौ नम्बरमा आएका गुल्सन झाले नेपालको इनिङ्स अघि बढाएका थिए । दीपेन्द्रले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक बनाए ।
जारी विश्वकपमा उनकाे याे लगातार दोस्रो अर्धशतक हाे । यसअघि उनले वेस्ट इन्डिज विरुद्ध अर्धशतक प्रहार गरेका थिए । टी २० विश्वकपमा लगातार अर्धशतक हान्ने उनी पहिलो नेपाली खेलाडी बनेका छन् । गुल्सन झाले अविजित २४ रन बनाए । बलिङमा स्कटल्याण्डका माइकल लिस्कले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।
मुम्बईस्थित वानखेडे स्टेडियममा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ओपनर माइकल जोन्सको अर्धशतकमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो ।
बलिङमा नेपालका लागि सोमपाल कामीले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । नन्दन यादवले २ तथा कप्तान रोहित पौडेल र कुशल भुर्तेलले १-१ विकेट लिए ।



















