
विराटनगर । समयको प्रवाह, परिस्थिति र उतारचढावसँगै राजनीतिको मोडमा पनि परिवर्तन आउँछ । राजनीतिक गतिविधि र शैली फेरिन्छ । त्यसको एउटा उदाहरणका रूपमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई लिन सकिन्छ ।
जो अघिल्ला निर्वाचनमा प्रचारका लागि हेलिकप्टर चढेर जिल्ला–जिल्ला पुग्थे । ठूला सभामा भाषण गर्दै विपक्षीलाई व्यंग्य गर्थे । अहिले आफ्नै निर्वाचन क्षेत्र झापा–५ मा नम्र र साधारण शैलीमा देखिएका छन् । अर्थात्, ओलीको चुनावी गतिविधि झापा–५ मै सीमित भएर खुम्चिएको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनमा ओली त्यही क्षेत्रबाट उम्मेदवार छन् । वितगमा पनि बारम्बार यही क्षेत्रबाट चुनाव जितेका उनी आफ्नो क्षेत्रको घरदैलो, मतदाता भेटघाटलगायतका चुनावी अभियान एवं गतिविधिलाई त्यति ध्यान दिँदैन थिए । पार्टी अध्यक्षको हैसियतले देशका विभिन्न स्थानमा आमसभा एवं चुनावी कार्यक्रममा पुग्ने गर्थे ।
२०७४ र २०७९ सालको चुनावमा उनी देशभर दौडिएका थिए । तर, अहिले परिस्थिति फरक छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह (बालेन्द्र)ले देशव्यापी रुपमा ‘लहर’ सिर्जना गरेपछि ओली आफ्नै गढ जोगाउने ध्याउन्नमा छन् । त्यही ध्याउन्नले उनलाई यो निर्वाचनमा आफ्नो क्षेत्रभित्र खुम्चिन बाध्य बनाएको हो ।

अहिले ओली झापामा घरघर पुगेर मतदाता भेट्दै छन् । चिया पिएर स्थानीय गुनासो सुन्दै र रुष्ट कार्यकर्तासँग वार्ता गर्दै मत (भोट) मागिरहेको देखिन्छन् । बुधबार झापाको गौरीगञ्ज–३ का क्याम्पस मोड, ठेकी टोला र तेककानीमा स्थानीयहरु अचम्मित भए ।
२०४८ सालदेखि सोही क्षेत्रबाट चुनाव लड्दै आएका ओली ती ठाउँमा यसअघि कहिल्यै नआएको स्थानीय बताउँछन् । गौरीगञ्ज गाउँपालिका–३ का वडाध्यक्ष श्रवण गिरीले २०७४ सालको निर्वाचनमा ओली त्यहाँ पुगेको जानकारी नभएको बताए ।
एमाले दमक स्रोतका अनुसार बालेनको प्रवेशपछि आफू संकटमा परेको महसुस गरेका ओली पार्टीका कार्यकर्ता र मतदाताका घरघर पुगिरहेका छन् । ‘अवस्था पहिलेजस्तो छैन । अलि गाह्रै छ । त्यही भएर उहाँ नेता कार्यकर्तालाई समेट्दै आफ्नो क्षेत्र सम्हाल्दै हुनुहुन्छ,’ एमालेका एक नेताले भने ।
एमालेका कोशी प्रदेश सचिव राजकुमार भण्डारीले यसपालि पार्टीले कतै पनि ठूला आमसभा नराखेका कारण ओली देश दौडाहामा ननिस्किएको बताउँछन् । ‘ठूला आमसभा र कार्यक्रम भएको भए उहाँ (ओली) जानु हुने थियो । अहिले त्यस्तो कार्यक्रम कतै पनि छैन । त्यही भएर देश दौडाहामा जान आवश्यक रहेन,’ उनी भन्छन् ।
राजनीतिक विश्लेषक गिरीश भट्टराईका अनुसार बालेनले सिर्जना गरेको युवाको लहर र पुराना दलप्रतिको वितृष्णाले ओलीलाई रक्षात्मक बनाएको छ । यसअघिका चुनावमा विरलै मात्र घरदैलो गर्ने ओली अहिले झापा–५ मा लामो समय बिताइरहेका छन् । मनोनयन दर्तापछि दुई पटक मात्रै छोटो समयका लागि काठमाडौं गए ।
राजनीतिक क्षति नहोस् भनेर उनी आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित भएको देखिन्छ । विश्लेषक भट्टराईका अनुसार ओलीले झापा–५ मा पर्याप्त समय दिनुको मुख्य कारण त्यहाँ सिर्जना हुन सक्ने राजनीतिक भ्याकुममा बालेनले खेल्न सक्ने डर हो ।
उनी पनि ओलीको चुनावी शैलीमा परिवर्तन आएको देख्छन् । देश दौडाहा र ठूलो सभाको सट्टा आफ्नो गढलाई सुरक्षित राख्न र व्यक्तिगत सम्पर्कमा जोड दिने ओलीको रणनीति देखिन्छ । ओलीमा देखिएको परिवर्तन रणनीतिक सर्तकता र राजनीतिक आवश्यकतासँग जोडिएको विश्लेषकहरु बताउँछन् ।




















