बर्डफ्लूबाट बच्नलाई उच्च सतर्कता अपनाउन मोरङ प्रशासनको आग्रह

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ११, बुधबार १५:०२

विराटनगर । मोरङका कुखुरा फार्महरूमा बर्डफ्लू संक्रमण पुष्टि भएको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको छ ।

प्रशासनका अनुसार सुन्दरहरैँचा नगरपालिका–४, उर्लाबारी नगरपालिका–८, कटहरी गाउँपालिका–६ र विराटनगर महानगरपालिका–४ का फार्महरूमा प्रयोगशालाको परीक्षणपछि संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएका फार्म र आसपासमा उच्च सतर्कता अपनाउन प्रशासनले सबैलाई आग्रह गरेको छ ।

Advertisement

बर्डफ्लू मानिसमा समेत सर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रशासनले बर्डफ्लू नियन्त्रण नियमावली, २०७८ अनुसार संक्रमण देखिएका स्थानबाट चारै दिशातर्फ २० मिटर क्षेत्रलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । नियन्त्रणका आवश्यक कार्यहरू अघि बढाइरहेको छ ।

प्रशासनले संक्रमण पुष्टि भएका पालिकाहरूबाट पंक्षी तथा पंक्षीजन्य वस्तुतहरु (अण्डा, दाना, कुखुराको सुलीलगायत) आयात, निर्यात तथा ओसारपसारमा पूर्णरूपले रोक लगाएको छ । प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरिएको र सुरक्षाका सम्पूर्ण उपाय अपनाउन कृषक, व्यवसायी र उपभोक्तालाई आग्रह गरिएको मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले बताए ।

कोइरालले जारी गरेको सूचनामा सबैसँग सहकार्य र आवश्यक सहयोग गर्न अनुरोध गरिएको छ । प्रशासनले संक्रमण थप फैलिन नदिन जनसहभागिता, निगरानी र तत्काल कदम चाल्न विशेष जोड दिएको छ ।

यसैबीच, स्थानीय कृषक र व्यवसायीहरूले फार्ममा सफाई, भौतिक दूरी कायम राख्ने र सुरक्षा उपकरण प्रयोग गर्ने कार्यलाई प्राथमिकतामा राखेका छन् । प्रशासनले अर्को सूचना नभएसम्म प्रतिबन्ध भने कायम रहने जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.