
काठमाडौं । सरकारले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल र स्वास्थ्य बिमा बोर्डमा निमित्त जिम्मेवारी तोकेको छ । पूर्णकालीन नेतृत्व चयन नभएसम्मका लागि स्वास्थ्य मन्त्रालयले अल्पकालीन व्यवस्था स्वरूप प्राध्यापक डाक्टर र डाक्टरहरुलाई जिम्मेवारी दिएको हो ।
स्वास्थ्यमन्त्री निशा मेहताको सचिवालयका अनुसार अत्यावश्यक काम, उपचार सेवा र प्रशासनिक गतिविधि प्रभावित हुन नदिन अस्थायी रूपमा निमित्त नियुक्ति गरिएको हो । मन्त्रालयले खुल्ला प्रतिस्पर्धा र मेरिटका आधारमा छिट्टै पूर्णकालीन नेतृत्व चयन प्रक्रिया अघि बढाइने जनाएको छ ।
मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. समिता पन्त, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नरेन्द्रविक्रम गुरुङ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह–प्रा.डा. विनम्र विष्टलाई निमित्त जिम्मेवारी दिएको छ । त्यसैगरी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सह–प्र.डा. इन्द्र लिम्बू, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह–प्रा.डा. सुरेश रसाइली, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा डा. उमेश नेपाल तथा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सह–प्रा.डा. रवीन्द्रभक्त तिमलालाई जिम्मेवारी तोकिएको छ ।
स्वास्थ्य बिमा बोर्डको निमित्त जिम्मेवारी शकुन्तला प्रजापतिलाई दिइएको मन्त्री मेहताको सचिवालयले जनाएको छ । हालै जारी सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी विशेष व्यवस्थाको अध्यादेशपछि स्वास्थ्य निकाय नेतृत्वविहीन बनेका थिए ।
मन्त्रालयले बिरामीको उपचार, दैनिक सेवा प्रवाह र प्रशासनिक कार्यमा अवरोध नआओस् भनेर तत्कालका लागि मात्रै निमित्त प्रमुख तोकिएको स्पष्ट पारेको छ ।



















