बिरामी भएपछि र बिरामी हुनुअघि १२ वर्षीया भूमिका तिवारी ।विराटनगर । सुनसरीको इटहरी तरहराकी १२ वर्षीया भूमिका तिवारी यतिबेला जीवन र मृत्युबीचको कठोर लडाइँ लडिरहेकी छन् ।
कक्षा ६ मा अध्ययनरत, पढाइमा अब्बल र भविष्यका सपना बोकेकी बालिका अहिले दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालको शैयामा एक्युट ल्युकेमिया (बी–अल प्रकारको ब्लड क्यान्सर)विरुद्ध संघर्षरत छिन् । गत चैत्र महिनादेखि सुरु भएको सामान्य स्वास्थ्य समस्या सुरुमा परिवारले गम्भीर रूपमा लिएको थिएन ।
तर, क्रमशः शरीर कमजोर हुँदै गएपछि उनलाई विभिन्न अस्पतालमा जाँचका लागि लगियो । काठमाडौंस्थित शिक्षण अस्पतालमा गरिएको विस्तृत परीक्षणपछि चिकित्सकहरूले उनको अवस्था गम्भीर भएको संकेत दिए । परीक्षणका क्रममा दुवै मृगौला र कलेजोमा समेत असर देखिएको भन्दै थप विशेषज्ञ उपचार आवश्यक भएको निष्कर्ष निकालियो ।
छोरीको अवस्था जटिल बन्दै गएपछि परिवारले भारत लगेर उपचार गराउने निर्णय गर्यो । सेवानिवृत्त प्रहरी कर्मचारी षडानन्द तिवारी, जसले अहिले सामान्य पसल सञ्चालन गरेर परिवार धानिरहेका छन् । आफ्नी कान्छी छोरीलाई बचाउने आशामा ऋण, सापटी र बचत जुटाउँदै उनी दिल्ली पुगे । तर, उपचारको बाटो सोचेभन्दा धेरै कठिन र महँगो सावित भयो ।

नेपालमै प्रारम्भिक परीक्षण र उपचारका लागि मात्र एक लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको परिवारले जनाएको छ । भारत पुगेपछि भने उपचारको दायरा अझ फराकिलो र खर्चिलो बन्दै गएको छ । चिकित्सकहरूले लामो र निरन्तर उपचार आवश्यक पर्ने बताएपछि परिवार अहिले आर्थिक संकटको चरम दबाबमा छ ।
भूमिकाकी आमा पवित्रा रिजाल छोरीको बेडछेउमा बसेर आँसु थाम्न नसक्ने अवस्थामा छिन् । उनले भनिन्, ‘छोरीले छिट्टै निको भएर विद्यालय फर्कने कुरा गर्छे । किताब र साथीहरू सम्झेर बोल्छे । तर, हामीलाई थाहा छ उपचार अझै लामो र खर्चिलो छ । अब के गर्ने भन्ने चिन्ताले रात दिन सताइरहेको छ ।’ अभिभावकका अनुसार दिल्लीमा एक महिनाको बसाइमै ठूलो रकम सकिएको छ । चिकित्सकहरूले थप परीक्षण, केमोथेरापी र अन्य उपचार प्रक्रियाका लागि अझ ठूलो रकम आवश्यक पर्ने बताएपछि उनीहरू पूर्णतः आर्थिक सहयोगको खोजीमा छन् ।
यता चिकित्सकीय दृष्टिकोणले हेर्दा ब्लड क्यान्सर जस्तो रोग समयमै पहिचान भएमा उपचार सम्भव हुने भए पनि ढिलो हुँदा जटिलता बढ्ने बताइन्छ । विराटनगरस्थित विराट क्यान्सर इन्स्टिच्युटका क्लिनिकल हेमाटोलोजिस्ट डा. विकासकुमार साहका अनुसार पछिल्लो समय क्यान्सरका बिरामीहरू उल्लेखनीय रूपमा बढिरहेका छन् ।
उनले भने, ‘दैनिक करिब १५ जना नयाँ बिरामी उपचारका लागि आइरहेका छन् । विभिन्न उमेर समूहका बिरामी देखिनु सामान्य बनेको छ । तर, समयमै पहिचान र उपचार सुरु गर्न सके क्यान्सर नियन्त्रणमा ल्याउन सकिन्छ ।’ डा. साहका अनुसार क्यान्सर भन्नेबित्तिकै आत्तिनुपर्ने अवस्था होइन । तर, ढिलाइ गर्नु घातक हुन सक्छ । उनले नेपालमै क्यान्सर उपचारका सुविधा विस्तार हुँदै गएको उल्लेख गर्दै भारतसम्म जानुपर्ने बाध्यता क्रमशः घट्दै गएको पनि बताए ।
विराट क्यान्सर इन्स्टिच्युटमा हाल नयाँ तथा पुराना गरी एक सयभन्दा बढी बिरामी नियमित उपचारमा रहेका छन् । कोशी प्रदेशका विभिन्न जिल्लाबाट बिरामीहरू उपचारका लागि आउने गरेका छन् । भारतमा लामो समय बस्नुपर्ने र महँगो खर्च धान्न नसक्ने बिरामीका लागि नेपालमै उपचारलाई निरन्तरता दिन सकिने सम्भावना बढ्दै गएको चिकित्सकहरूको भनाइ छ ।

त्यस्तै, क्यान्सर रोग परामर्शदाता कमल पौडेलले पनि मानसिक रूपमा नआत्तिन र धैर्यका साथ उपचारमा ध्यान दिनुपर्ने बताउँछन् । आफैं एक्युट ल्युकेमियाबाट प्रभावित भएर निको भएका पौडेलका अनुसार सकारात्मक सोच, समयमै उपचार र चिकित्सकीय निर्देशनको पालना नै सफल उपचारको आधार हो ।
भूमिकाको कथा अहिले एउटा परिवारको मात्र नभएर आर्थिक असमानता र गम्भीर रोगबीचको संघर्षको प्रतिनिधि बनेको छ । एकातर्फ भूमिका पढाइ र भविष्यका सपना देखिरहेकी छन् भने अर्कोतर्फ गम्भीर रोगले उनको जीवन अन्धकारतर्फ धकेल्ने जोखिम बढ्दै गएको छ ।
परिवार अहिले छोरी बचाउन आर्थिक सहयोगको अपेक्षामा छ । समाज, सहयोगी हातहरू र संस्थागत समर्थन नपाए उपचारलाई निरन्तरता दिन कठिन हुने अभिभावकको भनाइ छ ।
छोरीको मुस्कान फेरि फर्काउने आशामा बसेको तिवारी परिवार अहिले ठूलो संकटको सामना गरिरहेको छ । ‘जीवन बचाउने उपचारको बाटो पैसाको अभावले रोकिने हो कि सहयोगको हात समयमै पुग्ने हो’ भन्ने दोधारमा तिवारी परिवार रहेको छ ।

























