
ललितपुर । ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित एक घरसहित पाँच विभिन्न स्थानमा चोरी गर्ने एक जनालाई प्रहरीले ठूलो परिमाणको सुनचाँदीका गरगहनासहित पक्राउ गरेको छ ।
गोदावरी नगरपालिका–१४ ठैबका ३३ वर्षीय सुरज महर्जनलाई चोरीको सामानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गत साउन २२ गते बिहान हरिसिद्धिस्थित रिना महर्जनको घरमा भएको चोरीको घटनापछि अनुसन्धान सुरु गरेको थियो ।
घटनास्थल वरिपरिको सीसीटीभी फुटेजको आधारमा खोजी गर्ने क्रममा प्रहरी वृत्त सातदोबाटोको टोलीले बा.९० प २७६४ नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका महर्जनको साथमा रहेको ‘क्याट’ लेखिएको कालो झोला खानतलासी गर्दा प्रहरीले चोरी गरिएका विभिन्न सुन र चाँदीका गहनाहरू फेला पारेको थियो ।
महर्जनको साथमा रहेको झोलाबाट नौ गेडी पोते, हार, झुम्का, औँठी, सिक्री, तिलहरी र चुरा गरी कूल तौल करिब ४६४ ग्राम तथा चाँदीको औँठी, साँचो झुन्ड्याउने रिङ, हार, हनुमानको लकेट, सिक्री, ब्रासलेट र पाउजु बरामद गरिएको थियो ।
त्यस्तै, ह्वाइट गोल्ड र डायमन्ड जस्तो देखिने औँठी तथा गहना, पुराना तथा नयाँ सिक्काहरू र नगद ११ हजार ३०० रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका महर्जनमाथि चोरी मुद्दामा थप अनुसन्धानका लागि ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ

























