
झापा । जबरजस्ती करणी मुद्दामा लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१६ का ४७ वर्षीय प्रवेक डंगोल रहेको झापा प्रहरीले जनाएको छ । डंगोलमाथि गत वर्षको फागुन २५ गते राति झापाको मेचीनगर नगरपालिका–१३ चारआलीस्थित ओझा होटेलमा ३२ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको आरोप छ । उक्त घटनापछि उनी फरार रहँदै आएका थिए ।
भारतमा लुकिछिपी बस्दै आएका डंगोल नेपालतर्फ आउँदै गरेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले निगरानी बढाएको थियो ।
सोही क्रममा साउन २६ गते दिउँसो करिब ३ बजे उनलाई काँकडभिट्टा बसपार्कबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका डंगोलमाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

























