
विराटनगर । मोरङमा भएको एउटा सामूहिक बलात्कार (जबरजस्ती करणी) घटनामा दोषी ठहर भएका एक जना अभियुक्त लामो समयपछि पक्राउ परेका छन् । अरु दुई जना अभियुक्तले भने अदालतमा आत्मसमर्पण गरेका छन् ।
मोरङको कटहरी गाउँपालिका–६ का ३० वर्षीय मन्त्री भनिने अजय पासवानलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए । उनका अनुसार सर्वोच्च अदालतबाट दोषी ठहर भएका अजय आइतबार साँझ विराटनगर महानगरपालिका–७ स्थित सहिद रंगशाला नजिकबाट पक्राउ परेका हुन् ।
सामूहिक बलात्कारमा संलग्न अजयसहित चार जनालाई २०८२ साल असार १० गते सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले दोषी ठहर गर्दै जनही ९ वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो । अजय अहिले आएर पक्राउ परेका हुन् ।
दोषी ठहर भएका अरु दुई जना अभियुक्त कटहरी–४ का राजा भनिने राजेश कामत र करिया भनिने रविन कामतले भने सोमबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन् । अजय पक्राउ परेको भोलिपल्ट राजेश र रविन फैसला कार्यान्वयनको माग गर्दै अदालतमा पुगेका हुन् । दुवै जनाले ‘फैसला कार्यान्वयन गराइपाऊँ’ भनेर निवेदन दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।
‘सर्वोच्च अदालतबाट दोषी ठहर भएको लामो समयसम्म फरार रहेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेर बुझाएको छ । अरु दुई जना आफैं निवेदन लिएर अदालतमा आइपुगेका हुन्,’ बुढाथोकीले भने । अजयजस्तै पक्राउ पर्ने भएपछि राजेश र रविन आफैंले अदालतमा आत्मसमर्पण गरेको उनले बताए ।
घटनामा संलग्न अर्का अभियुक्त सुजित चौधरी भने हालसम्म फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘१० वर्षअघि चार जनाले सामूहिक बलात्कार गरेको पाइएयो । सर्वोच्चले दोषी ठहर पनि गरिसकेको रहेछ । एक जना पक्राउ परे । अरु दुई जना आफैं अदालतमा गए । फरार रहेका एक जनाको खोजी तीव्र पारिएको छ,’ प्रहरी स्रोतले भन्यो । प्रहरीले पक्राउ गरेर बुझाएका अजय र आफैं आत्मसमर्पण गरेका राजेश एवं रविनलाई अदालतले कैद सजाय भुक्तानका लागि सोमबार कारागार चलान गरेको सूचना अधिकारी बुढाथोकीले बताए ।
१० वर्षअघिको घटनामा संलग्न चारै जना त्यतिबेलै पक्राउ परेका थिए । अदालतले सफाइ दिएपछि छुटेका हुन् । उक्त सामूहिक बलात्कारमा संलग्नलाई जिल्ला अदालत मोरङका तत्कालीन न्यायाधीश नारायणप्रसाद पराजुलीको इजलासले २०७४ जेठ ४ गते सफाइ दिएको थियो । त्यस्तै, उच्च अदालत विराटनगरका तत्कालीन न्यायाधीश प्रेमराज कार्की र महेश शर्मा पौडेलको संयुक्त इजलासले पनि २०७५ चैत ५ गते जिल्ला अदालतकै फैसला सदर गरेको थियो ।
जिल्ला अदालतले सफाइ दिएपछि चारै जना अभियुक्त थुनामुक्त भएका थिए । त्यसअघि जिल्लाकै आदेशबाट उनीहरुलाई पुर्पक्षका लागि जिल्ला कारागार मोरङ चलान गरिएको थियो । पछि जिल्ला अदालतले अभियुक्तहरुलाई सफाइ दिँदा उच्च अदालतले पनि जिल्लाकै फैसलालाई सदर गरिदिएको हो ।
तर, जिल्ला र उच्चको फैसला उल्टाउँदै सर्वोच्च अदालतले २०८२ साल असार १० गते चारै जनालाई प्रतिव्यक्ति ९ वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो । सर्वोच्चको फैसलापछि अभियुक्तहरु फरार भएका थिए । प्रहरीको खोजी सूचीमा रहे पनि उनीहरु पक्राउ परेका थिएनन् । पछिल्लो समय पक्राउ परेका अजयले भने विराटनगरको नोबेल अस्पताल नजिकै लुकिछिपी फार्मेसी (औषधि पसल) सञ्चालन गरेर बसेको पाइएको छ ।
उक्त सामूहिक बलात्कारको घटना २०७३ साल माघ १० गते राति करिब ८ बजेतिरको हो । मोरङको कटहरी गाउँपालिका–१ स्थित माछा पोखरीको डिलमा १९ वर्षीया युवती बेहोस अवस्थामा भेटिएकी थिइन् । ७–८ जना मानिसहरुको समूहले सामूहिक बलात्कार गरेर युवतीलाई बेहोस बनाई अचेत अवस्थामा छाडेको जानकारी प्रहरीले प्राप्त गरेको थियो ।
प्रहरी घटनास्थल पुग्दा पोखरीको डिलमा रहेको फलामको खाटमाथि युवती अचेत अवस्थामा भेटिएकी थिइन् । बेहोस अवस्थामा रहेकी युवतीलाई नेपाल प्रहरीका तत्कालीन सई देवेन्द्र सुवेदी नेतृत्वको प्रहरी टोलीले तत्काल उद्धार गरेर उपचार लागि विराटनगरको कोशी अस्पताल पठायो । उपचार र स्वास्थ्य परीक्षणका क्रममा युवतीमाथि सामूहिक बलात्कार भएको पत्ता लाग्यो ।
त्यसलगत्तै प्रहरीले घटनामा संलग्न भएको आरोपमा नौ जनालाई पक्राउ गरेको थियो । घटनास्थल नजिकै रहेको धर्मकाँटाको कार्यालय कोठाभित्र लुकिछिपी बसेको अवस्थामा उनीहरुलाई सई सुवेदी नेतृत्वकै प्रहरीले २०७३ साल माघ ११ गते बिहानका राति पक्राउ गरेको थियो ।
तर, घटनामा संलग्नहरुलाई जिल्ला अदालतले सफाइ दियो । उच्चले जिल्लाकै निर्णयलाई सदर गरेको भए पनि सर्वोच्चले भने उच्चको फैसला उल्टाएर चार जनालाई दोषी ठहर गर्दै कैद सजाय सुनाएको हो ।

























