
विराटनगर । विराटनगर महानगरपालिका –२ मा रहेको ऐतिहासिक जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः मनोजविक्रम शाह चयन भएका छन् । विद्यालयको हालै सम्पन्न साधारणसभाले शाहलाई आगामी कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।
शाहको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको छ । विद्यालयको शैक्षिक तथा भौतिक सुधारमा शाहले पुर्याएको योगदानको कदर गर्दै अभिभावक तथा सरोकारवालाहरूले उनलाई पुनः नेतृत्वको जिम्मेवारी सुम्पिएका हुन् ।
नयाँ गठित समितिको सदस्यसचिवमा विद्यालयका प्रधानाध्यापक चिन्तामणि रिजाल रहेका छन् । त्यसैगरी, समितिको सदस्यहरूमा दिनेश राजवंशी, गोविन्दप्रसाद उराँव, भगवती बस्नेत, कविता राजवंशी र इन्दु सुवेदी चयन भएका छन् ।
यस्तै, समितिको पदेन सदस्यमा आशा राउत (वडा सदस्य) र शिक्षक प्रतिनिधिको रूपमा कमलदेव मण्डल चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष शाहले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न र विद्यालयलाई नमुना बनाउन आफू सधैँ प्रतिबद्ध रहने बताए । विराटनगरको पुरानो र प्रतिष्ठित यस विद्यालयमा नयाँ कार्यसमिति चयन भएसँगै यसको थप विकास हुने विश्वास लिइएको छ ।

























