कलेजले दक्ष र स्वरोजगार जनशक्ति उत्पादनमा जोड दिन्छ: निर्देशक नेपाल   

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३०, शनिबार २०:०९
कलेजले दक्ष र स्वरोजगार जनशक्ति उत्पादनमा जोड दिन्छ: निर्देशक नेपाल   

विराटनगर । विराटनगरस्थित इडेनबर्ग कलेजले बीबीएस र बीएड संकायमा अध्ययनरत विद्यार्थीहरूका लागि बिदाइ तथा स्वागत कार्यक्रम आयोजना गरेको छ।

कलेजले एक विशेष समारोहबीच छैटौँ ब्याचका १९६ जना विद्यार्थीलाई बिदाइ गरेको हो भने नवौँ ब्याचमा भर्ना भएका ४६४ जना नयाँ विद्यार्थीहरूलाई स्वागत गरेको छ।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका निर्देशक भुवन नेपालले इडेनबर्ग कलेजले केवल सैद्धान्तिक ज्ञान मात्र नभई दक्ष र स्वरोजगार जनशक्ति उत्पादनमा विशेष जोड दिँदै आएको बताए । उनले बिदाइ भएर जाने विद्यार्थीहरूको सफल भविष्यको कामना गर्दै नयाँ विद्यार्थीहरूलाई समयको महत्त्व बुझेर लगनशील भई अध्ययन गर्न सुझाव दिए ।

त्यस्तै, क्याम्पस प्रमुख डिके साहले कलेजले विद्यार्थीहरूलाई जहिले पनि सीप र संस्कारसहितको शिक्षा प्रदान गर्ने लक्ष्य राखेको उल्लेख गरे । उनले विद्यार्थीहरूलाई प्रतिस्पर्धी बजारमा खरो उत्रन सक्ने बनाउन कलेजले सधैँ प्रयासरत रहने प्रतिबद्धता समेत व्यक्त गरे ।

समारोहमा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले  ‘डान्सिङ स्टार’ प्रतियोगिता समेत आयोजना गरिएको थियो । प्रतियोगितामा विद्यार्थीहरूले उत्कृष्ट नृत्य प्रदर्शन गरेका थिए।

सोही अवसरमा पत्रकार प्रेम देवानले आफ्ना स्वर्गीय बुबाको सम्झनामा स्थापना गरेको  ‘कृष्ण देवान स्मृति पुरस्कार’ समेत प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य तथा गायन प्रस्तुत गरी सहभागीहरूलाई भरपुर मनोरञ्जन दिलाएका थिए।

कलेज प्रशासन, प्राध्यापक, कर्मचारी र ठुलो संख्यामा विद्यार्थीहरूको उपस्थिति रहेको उक्त कार्यक्रम निकै उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.