
एजेन्सी । अमेरिका र इरानबीच जारी सैन्य तनाव अस्थायी रूपमा रोकिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सोमबार करिब चार प्रतिशतले घटेको छ । दुई सातादेखि जारी सैन्य कारबाही रोकिएसँगै कूटनीतिक समाधानको सम्भावना बढेको र स्ट्रेट अफ होर्मुज हुँदै हुने तेल ढुवानी सहज हुने आशाले बजारमा सकारात्मक प्रभाव पारेको हो ।
सोमबार बिहान लन्डनस्थित आईसी एक्सचेञ्जमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ३ डलर ९६ सेन्टले घटेर ९२ डलर ८२ सेन्टमा झरेको छ । यो अघिल्लो दिनको तुलनामा ४ दशमलव १ प्रतिशतको गिरावट हो । कारोबारको सुरुआती चरणमा यसको मूल्य केही समयका लागि ९० डलरभन्दा तलसम्म आइपुगेको थियो ।
त्यस्तै, न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जमा अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) को मूल्य पनि ४ डलर २ सेन्टले घटेर प्रतिब्यारेल ८५ डलर २९ सेन्टमा सीमित भएको छ । यो अघिल्लो दिनको तुलनामा ४ दशमलव ५ प्रतिशत कम हो ।
लगातार तीन सातासम्म बढेको तेलको मूल्य अहिले एक सातायताकै न्यून स्तरमा पुगेको छ । यसअघि अमेरिका-इरान द्वन्द्वका कारण स्ट्रेट अफ होर्मुज हुँदै हुने आपूर्ति प्रभावित भएपछि ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरसम्म पुगेको थियो । द्वन्द्वका कारण साउदी अरबबाट बाब अल-मन्देब जलडमरूमार्ग हुँदै एसियातर्फ हुने तेल निर्यातमा समेत अवरोध सिर्जना भएको थियो ।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले कूटनीतिक प्रयासलाई समय दिन इरानमाथिको अमेरिकी हवाई आक्रमण अस्थायी रूपमा रोकिएको बताए । लगत्तै इरानले पनि अमेरिकाले आक्रमण नगरेसम्म आफूले प्रतिआक्रमण नगर्ने स्पष्ट पार्यो ।
आईएनजी बैंकका विश्लेषकहरूका अनुसार दुवै देशले सैन्य कारबाही रोकेपछि बजारमा तनाव कम भएको हो । यद्यपि सैन्य कारबाही रोकिए पनि स्ट्रेट अफ होर्मुज हुँदै जहाज आवागमन अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन । क्लेपरको तथ्यांकअनुसार सप्ताहन्तमा उक्त जलमार्गबाट दैनिक १० भन्दा कम मालवाहक जहाजले मात्र यात्रा गरेका थिए ।
एमएसटी मार्कीका विश्लेषक साउल काभोनिकले धेरै ढुवानी कम्पनी अझै पनि सुरक्षा अवस्थाप्रति विश्वस्त नरहेकाले तेल ढुवानी पूर्ववत् हुन केही समय लाग्ने बताए । यता यमनका हुथी विद्रोहीले रेड सी तटस्थित साउदी अरेबियाका तेल पूर्वाधारमा आक्रमण गरेपछि बाब अल-मन्देब जलडमरूमार्ग हुँदै हुने आवागमन पनि प्रभावित बनेको छ ।
मध्यपूर्वको सुरक्षा जोखिम र रुस-युक्रेन युद्धका कारण विश्वव्यापी तेल आपूर्ति अझै जोखिममा रहेको विश्लेषकहरूको भनाइ छ । आपूर्तिमा अवरोध कायम रहे अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पुनः बढेर विश्वव्यापी मुद्रास्फीतिमा दबाब पर्न सक्ने चेतावनी उनीहरूले दिएका छन् । यसैबीच युक्रेनले सप्ताहन्तमा रुसका विभिन्न तेल भण्डारण केन्द्र तथा पूर्वाधारहरूमा ड्रोन आक्रमण गरेको जनाएको छ ।

























