फोटो क्याप्सन : बालिकाको हत्यापछि भावविह्वल भएका आफन्त ।विराटनगर । सन्तानलाई हजुरआमाको जिम्मा लगाएर आमाबुवा काम विशेषले बाहिर गएका थिए । धनपालथान गाउँपालिका–५ बबियाका अक्षय सरदार सालोसँग भारतको मनिहारी घाटतर्फ लागे ।
जुठो पखाल्नका लागि उनी सालोसँग मनिहारी घाट जाँदा श्रीमती माइतीघर गइन् । २ छोरी र १ छोरालाई हजुआमाको घरमा राखेर उनीहरु हिँडेका थिए । बाबुआमाले हजुरआमाको जिम्मा लगाएकामध्ये हत्या भएको अवस्थामा ७ वर्षीया आत्तिका सरदारको शव शनिबार बिहानका राति फेला पर्यो ।
दिदी र भाइसँगै आत्तिका आफ्ना काका अनिष सरदारसँग सुतेकी थिइन् । काकासँग सुतिरहेका ३ जना बालबालिकामध्ये नाबालिका आत्तिका बेपत्ता भइन् । हत्या भएको अवस्थामा शव भेटिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।
बलात्कारपछि नाबालिकाको हत्या भएको हुनसक्ने प्रहरी प्रारम्भिक अनुमान छ । यद्यपि, यसको पुष्टि भइसकेको छैन । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाको वास्तविकता पत्ता लाग्ने डीएसपी चुँडालले बताइन् ।

प्रहरीले मृतक बालिकाका काका अनिषलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ । यद्यपि, अनिषले घटना स्वीकार गरेका छैनन् । घरनजिकको दुर्गा आधारभूत विद्यालय छेउको बाटोमा शनिबार बिहान ५ बजेतिर आत्तिकाको शव फेला परेको चुँडालको भनाइ छ ।
बिहान करिब ३ बजे हजुरआमाले बालिका बेपत्ता भएको थाहा पाइन् । बच्चा चोरी भएको आशंकामा गाउँभर हल्ला भयो । खोजी गर्ने क्रममा घरदेखि करिब सय मिटर पर दुर्गा आधारभूत विद्यालय छेउको बाटोमा शव भेटियो । प्रहरीले शवको अवस्था र घटनास्थलको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको आशंका गरेको हो ।
अनुहार, घाँटीलगायत शरीरका विभिन्न भागमा चोट थियो । अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार अनिषले मदिरा सेवन गरेको स्वीकार गरेका छन् । तर, बलात्कार वा हत्या गरेको भने इन्कार गरेका छन् । ‘घटना भएका बखत त्यहाँ अरु कसैको गतिविधि देखिँदैन । घटनास्थल र शवको अवस्थाले काकामाथि नै शंका गर्ने आधार बलियो बनेको छ । बलात्कारपछि घटनाको खुलासा हुने डरले हत्या गरेजस्तो देखिन्छ,’ प्रहरी स्रोतले भन्यो ।
शवको विराटनगरस्थित कोशी अस्पतालमा पोस्टमार्टम गरिएको छ । अस्पतालका फरेन्सिक विज्ञ डा. दीक्षान्त पोखरेलको टोलीले पोस्टमार्टम गरेको हो । यद्यपि, चिकित्सक पनि कुनै निष्कर्षमा पुग्न सकेनन् । थप परीक्षणका लागि नमुना संकलन गरेर पठाइएको छ ।
प्रहरी स्रोतका अनुसार बलात्कारपछि घटना बाहिर आउने डरले नाबालिकाको हत्या गरे शव विद्यालय छेउको बाटोमा फालेजस्तो देखिन्छ । शव फालेपछि आफैंले सोधीखोजी गर्दै भतिजी हराइन भनेर भनेजस्तो गरेको प्रहरीको भनाइ छ ।

घटनाको अनुसन्धानका लागि मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरिया आफैं घटनास्थल पुगेका थिए । घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको उनले बताए । ‘बलात्कार पुष्टि भइसकेको छैन । हत्या चैं भएकै हो । अनुसन्धान र मेडिकल रिपोर्टपछि मात्र निष्कर्षमा पुग्न सकिन्छ,’ एसपी चिमरियाले भने ।
आफन्त अमृताकुमारी चौधरीका अनुसार प्राय बुवाआमा काममा जाँदा हजुरआमासँगै नातिनातिना बस्थे । शुक्रबार पनि हजुरआमालाई सन्तान जिम्मा लगाएर हिँडेका थिए । शनिबार बिहान शव भेटिएको खबर आएपछि गाउँ नै स्तब्ध भएको चौधरीले बताइन् ।
भारतमा रहेका बुवा र माइतीमा रहेकी आमालाई घर बोलाइएको उनको भनाइ छ । छिमेकी राज सरदारले भने, ‘घटना भयानक र दर्दनाक छ । तर, कोबाट भयो भन्नेमा निश्चित छैनौं । निष्पक्ष अनुसन्धान होस् । हत्यारामाथि कारबाही हुनुपर्छ ।’
घटनाले गाउँमा त्रास फैलिएको छ । बालिका सुरक्षाको सवालमा परिवार मात्र होइन, समाज नै जिम्मेवार हुनुपर्ने माग स्थानीयले गरेका छन् । प्रहरीले भने अनुसन्धानलाई तीव्र बनाउँदै सबै पक्षको सहभागिता र प्रमाणका आधारमा निष्कर्षमा पुगिने बताएको छ ।


























